१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा २१ वर्षीया युवतीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार ००:२५

बेलायतमा कुनै पनि प्रकारको गम्भीर स्वास्थ्य समस्या नभएकी एक युवतीको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको उनको परिवारका सदस्यले दाबी गरेका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोवेल कोरोनाभाइरसको संक्रमण सबै उमेर समूहका व्यक्तिमा हुने भएपनि मृत्युको जोखिम पाको उमेर तथा गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा हुने अहिलेसम्मको तथ्यांकको विश्लेषणबाट देखिएको वैज्ञानिकले बताउने गरेका छन् ।

तर बेलायतको बकिंगघम शायरस्थित वीकोम्बीकी २१ वर्षे युवती क्लोइ मिडल्टनको कोरोनाभाइरसको संक्रमणपछि मृत्यु भएको हो । उनी कोभिड १९ का कारण बेलायतमा अहिलेसम्म मृत्यु हुनेमा कुनै पनि गम्भीर स्वास्थ्य समस्या नभएको कम उमेरको व्यक्ति रहेको बताइन्छ । क्लोइको मृत्यु मार्च २१ मा भएको हो ।

उनकी आमा डायन मिडल्टनले फेसबुकमा लेखेकी छन्, ‘जसले यो मात्रै भाइरस हो भन्ने सोच्नु भएको छ, कृपया एकपटक फेरि सोच्नु होला । व्यक्तिगत अनुभवबाट भन्दा यो भाइरस मात्र ठानिएको कोरोनाभाइरसका कारण मेरी २१ वर्षकी छोरीको निधन भयो ।’

क्लोइकी सानिमा एमिली मिस्ट्रीका अनुसार पनि उनमा कुनै पनि प्रकारको गम्भीर स्वास्थ्य समस्या थिएन । तर पनि कोभिड १९ काकारण उनको निधन भएको एमिलीले उल्लेख गरेकी छन् । उनले लेखेकी छन्, ‘कृपया सरकारले लागु गरेको नियम र गरेको आग्रह मान्नु होला । भाइरस आफै फैलिरहेको छैन, मानिसले यसलाई फैलाइरहेका छन् ।’

वैज्ञानिकहरुले कोरोना भाइरसका कारण बढी जोखिम विशेष गरी ७० वर्ष भन्दा माथि उमेरका तथा पहिले नै गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिमा रहेको बताएका छन् । चीन तथा इटालीमा भइरहेको मृत्युले पनि त्यसलाई नै संकेत गरेको छ ।

तर पछिल्ला दिनमा कोरोनाभाइरसको संक्रमणका कारण युवाहरुको पनि ज्यान गएका खबर आउन थालेका छन् ।