८ बैशाख २०८१, शनिबार
Follow Us

बाबु आमालाई भेटेर फर्केकी बागलुङकी किशोरीमा पनि कोरोना संक्रमण

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७६, शनिबार १४:३७

बागलुङ । आमा बुवालाई भेट गरी बेल्जियमबाट घर फर्केकी बागलुङकी एक किशोरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । युरोपबाट फर्किएकी १७ वर्षीया युवतीमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमितको संख्या पाँच पुगेको छ । संक्रमित युवती दुई महिनाअघि मात्रै बेल्जियममा रहेका बाबुआमा भेट्न गएकी थिइन् ।

हालसम्म संक्रमितमध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले संक्रमण देखिएकी किशोरी ४ चैतमा कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो । त्यसपछि विमानमा सवार १५८ यात्रुको खोजी थालिएको थियो ।

बागलुङ नगरपालिका–४ कुँडुलेमा रहेको आफ्नै घरमा रहेकी युवतीकोे धौलागिरी अस्पतालमा नमुना संकलन गरिएको थियो । युवतीको हालको स्वास्थ्य अवस्था सामान्य रहेकाले तत्काल सघन उपचार कक्ष (आईसियु) मा राखेर उपचार गर्नुपर्ने अवस्था नरहेको धौलागिरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. शैलेन्द्र वि. पोख्रेलले जानकारी दिए ।

‘विरामीलाई ज्वरो, खोकी छैन, श्वास प्रश्वासमा पनि समस्या देखिन्न,’ डा. विकले भने, ‘होम आइसोलेसनमा राखेर उपचार गर्ने विषयमा छलफल भइरहेको छ । अन्य ठाउँमा पनि विरामीको अवस्था जटिल नहुँदा घरमै उपचार गर्ने अभ्यास रहेको डा. विकको भनाइ छ । विरामीलाई घर बाहिर निकाल्दा समुदायमा संक्रमणको सम्भावना बढ्ने हुँदा घरमै उपचारको व्यवस्था गर्ने उनको भनाइ छ ।