१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीनबाट आउने कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने

नेपालब्रिटेन संवाददाता
१५ चैत्र २०७६, शनिबार १५:०२

काठमाडौं । तातोपानी नाका हुँदै आउने भनिएको कोरोना परीक्षण किट हवाई मार्गबाटै काठमाडौँ ल्याइने भएको छ । स्थलमार्गबाट आउँदा ढिला र अन्य समस्या हुने भएपछि तातोपानी नभई हवाइमार्गबाटै सीधै काठमाडौ आउने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ । नाका भने केही दिनभित्रै पुनःसञ्चालन हुने तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि चीन सरकारले सहयोग गर्ने घोषणा गरेपछि सरकारले बन्द तातोपानी र रसुवा नाका सञ्चालन गरेर अति आवश्यक सामग्री ल्याउने निर्णय गरेको थियो ।

भोटेकोशीमा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’
कोरोना भाइरसले विश्वव्यापी महामारीको रुप लिइरहेकाले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा अन्तरराष्ट्रिय मापदण्डको ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइने भएको छ । जनप्रतिनिधिको आज बसेको बैठकले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डानुरुप स्वास्थ्य कक्ष स्थापना गर्ने निर्णय गरेको हो । बैठकले औषधि तथा अत्यावश्यक सामग्री यथाशीघ्र आयात गर्ने पनि निर्णय गरेको छ ।

गाउँपालिकामा कोही कसैलाई कोरोना भाइरससँग मिल्दो लक्षण देखिएमा झिर्पुमा स्थापित केन्द्रमा राखिने र संक्रमण बढेमा धुलिखेल अस्पताल पठाइने पालिकाले निर्णय गरेको छ ।

‘गाउँ कार्यपालिका र व्यवसायीसँग छलफल गरी थप सुरक्षा सावधानीको व्यवस्था मिलाउँदै छौँ,’ गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले भन्नुभयोे, ‘डब्लुएचओको मापदण्डअनुसार हेल्थ डेस्क सञ्चालन गरी नाका सञ्चालन गर्ने हाम्रो प्रयत्न छ ।’ सुरक्षा सावधानी अपनाएर नाकाको काम हुने उहाँले बताउनुभयो ।

कोषमा सांसद तामाङबाट एक महिनाको तलब

संघीय सांसद तथा पूर्वमन्त्री शेरबहादुर तामाङले आफ्नो जन्मदिनका अवसरमा नेपाल सरकारले स्थापना गरेको कोरोना सुरक्षा आकस्मिक कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गर्नुभएको छ ।सामाजिक सञ्जालबाट उहाँ यस्तो प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।

सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिसभामाका सदस्य तामाङले विपद्का समयमा सबै एक भएर उभिन अनुरोध गर्नुभएको छ । सबै जनतालाई सुरक्षित रहन र घर घरमा बसेर सहयोग गर्नसमेत उहाँले आग्रह गर्नुभएको छ ।

आइसोलेशनमा उपचाररतको स्वाब संकलन
कोभिड–१९ को लक्षणसँग मिल्ने सुख्खा रुघाखोकी र ज्वरो देखिएपछि आइसोलेशन वार्डमा उपचाररत तीन जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।
बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रके वार्डमा उपचाररत उनीहरुको आज स्वाबको नमूना संकलन गरी परीक्षणका लागि राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पठाइएको हो ।