७ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनमा कोरोनाबाट निधन भएका अर्यालको परिवारलाई एनआरएनए यूकेले आर्थिक सहयोग गर्ने

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७६, शनिबार २२:४७

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिमा विभिन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले सुरु गरेको हेल्पलाइन बिस्तार गरिने भएको छ ।
शनिबार भिडियो कन्फरेन्समार्फत बसेको आइसिसी सदस्य र राज्य परिषदका पदाधिकारीसहितको कार्यसमिति बैठकले हेल्पलाइनको संयोजकमा सचिव जीत रानाभाटलाई पनि थप गर्ने निर्णय गरेको छ । यसअघि हेल्पलाइनको संयोजन सचिव कोशलेश्वर ढकालले गर्दै आएका थिए ।

अब सचिवद्धय ढकाल र रानाभाटको मुख्य संयोजन रहने हेल्पलाइनका लागि बेलायतभरका विभिन्न क्षेत्रमा क्षेत्रीय संयोजकहरु समेत तोकेर सेवा थप प्रभावकारी बनाइने भएको छ ।
बैठकले लण्डनमा कोरोना संक्रमणको कारण मृत्यु भएका नेपाली प्रशान्त अर्यालप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारमा गहिरो समवेदना व्यक्त गरेको छ । मृतकको परिवारबाट सहयोगको याचना भएबमोजिम अर्यालको अन्त्येष्ठीको लागि एनआरएन यूकेको तर्फबाट ८ सय पाउण्ड बराबरको सहयोग गर्ने निर्णय गरिएको छ ।

बैठकले एनआरएन यूके कार्यसमिति सदस्य डा. मीन रानाभाटकी धर्मपत्नी श्रीमती भगवती रानाभाट कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गर्दै गरेको खबरप्रति खुशी व्यक्त गर्दै श्रीमती रानाभाटलाई एनआरएन यूकेको कोभिड १९ सम्बन्धी अभियानमा गुडविल एम्बेसडर नियुक्त गर्ने निर्णय गरेको छ ।

बेलायतको नेपाली समुदायका वृद्धवृद्धाहरु ,विशेषत भूपू गोर्खा परिवारका पेन्सनरहरुलाई सहयोगको लागि संयोजनको जिम्मेवारी लिनुभएका उपाध्यक्षद्धय प्रेम गाहा मगर र नारायण कँडेललाई क्षेत्रीय तहमा स्वयंसेवक परिचालन लागि क्षेत्रीय संयोजकहरु नियुक्त गर्ने जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, बेलायतको नेपाली बिजनेस कम्युनिटी तथा अन्य पेशा र क्षेत्रका व्यक्तित्वहरुसंग समन्वय गर्दै बेलायतको नेपाली समुदायमा यसको कारण उत्पन्न हुने आर्थिक,सामाजिक लगायतका समस्यामा सहयोग पुर्याउन पहल गरिने र सोको संयोजन गर्ने जिम्मेवारी कार्यसमिति सचिव तथा बिजनेस विभाग संयोजक जीत रानाभाटलाई दिइने भएको छ ।

बेलायतमा क्रियाशिल नेपाली संघसंस्थाहरुलाई सहयोग र समन्वयको लागि अपिल गर्ने निर्णय भएको छ । जसको संयोजन उपाध्यक्ष एवम् संघसंस्था समन्वय विभाग संयोजक रोजिना प्रधान राईले गर्नेछन् ।
बैठकले एनआरएन यूकेको तर्फबाट कोभिड १९ आर्थिक सहयोग संकलन अभियानलाई तिब्रता दिन अध्यक्ष पुनम गुरुङ , कोषाध्यक्ष तेजेन्द्र रोका मगर र संयोजक एवम् इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठसहितको समन्वयमा सहयोगको लागि आम जनसमुदायमा अपिल गर्ने निर्णय गरेको छ ।

संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा एनआरएन आईसीसीको तर्फबाट सदस्यहरु रामशरण सिम्खडा, दयानिधि सापकोटा, शुशिला राई, योगकुमार फगामी, एनआरएन यूके कोभिड १९ संयोजक सुनिल शाह, राज्य परिषदका अध्यक्ष तथा पदाधिकारीहरु र कार्यसमितिका पदाधिकारी सहित ३० जनाको सहभागिता थियो ।

एनआरएनए यूके कार्यसमितिका पदाधिकारीको अर्को बैठक भोली २९ मार्च आईतवार पुनः बस्ने भएको छ ।