१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कर्जाको साँवा र व्याज तिर्ने समय असार मसान्तसम्म

नेपालब्रिटेन डट कम्
१६ चैत्र २०७६, आईतवार २०:५७

काठमाडौ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका सर्वसाधारणले कर्जाको साँवा र व्याज समय सीमा असार मसान्तसम्म पाएका छन् । नेपाल राष्ट्र बैंकले आईतबार निर्देशन जारी गर्दै ऋणीले सावा र व्याज असार मसान्तसम्म तिर्दा कुनै हर्जाना नलाग्ने व्यवस्था गरेको हो ।

यसअघि चैत मसान्तसम्मको समयसिमा दिएकोमा बढाएर असारसम्म पुर्याएको हो ।

यसैगरी खाद्यान्न, औषधी र औषधीजन्यलगायतका अत्यावश्यक सामग्री आयातका लागि पाँच दिनमा नै कर्जा प्रवाह गर्न पनि बैंक तथा वित्तिय संस्थालाई निर्देशन दिएको छ ।

निर्देशनमा विद्युतीय कारोबार गर्दा असार मसान्तसम्म कुनै शुल्क लिन नपाइने, बैंक जमानतमा शुल्क छुट दिनुपर्ने, कोरोना भाइरस विरुद्ध खडा गरेको कोषमा दिएको रकम सामाजिक उत्तरदायित्व अन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिएको छ ।

निजी स्वास्थ संस्थाले कोभिड –१९ को उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार गर्नका लागि लिएको ऋण प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गत राख्न सकिने र बैंकहरुले पालना गर्नुपर्ने नियमहरु पालना नगरेपनि असार मसान्तसम्म हर्जना नलाग्ने व्यवस्था गरेको छ ।

यस्तै बैदेशिक रोजगारीमा जाने अनुमति लिई जान नपाएका व्यक्तिले संक्रमणको जोखिम समाप्त भएपछि सहूलियत कर्जा लिई व्यवसाय गर्न चाहेमा ७ दिनभित्र कर्जा दिन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।