१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपालमा सेवा गर्न पाएकोमा गर्व छ : बेलायती राजदूत

नेपालब्रिटेन डट कम्
१७ चैत्र २०७६, सोमबार ०५:३०

काठमाडौं । नेपालको लागि बेलायती राजदूत निकोला पोलिटले लकडाउनका बेला बेलायती नागरिकलाई निःशुल्क खाना र बास उपलब्ध गरेकोमा नेपालीको प्रशंसा गरेकी छन्।
‘मेरा नेपाली साथीहरु जसले गएका दिनमा काठमाडौं बाहिर हुनु भएका बेलायती नागरिकहरुलाई निःशुल्क खाना र बास दिनुभयो, तपाईंहरुको दयालु र उदार चरित्रले गर्दा नै नेपाललाई विश्वभरि सबैले धेरै माया गर्छन् र नेपाल घुम्न आउँछन्,’ बेलायती राजदूत पोलिटले ट्वीटर मार्फत भनेकी छन्।

सरकारले चैत ११ गतेबाट देशलाई लकडाउन गरेको छ। सुरुमा एक साताको लागि गरिएको लकडाउन आइतबार पुनः एक साता थप्ने निर्णय सरकारले गरेको छ। लकडाउन गरेपछि बेलायतसहित केही देशका पर्यटक पोखरा लगायतका सहरमा अड्केका थिए।

शनिबार पोखरा र लुक्लाबाट ६ सय ४ जना पर्यटक उद्धार गरी काठमाडौं ल्याइएको थियो। जोमसोमबाट पनि केही पयर्टक उद्धार गरी ल्याइएको थियो। शुक्रबार र शनिबार बेलायतसहित विभिन्न देशका ९ सय १३ जना पर्यटक उद्धार गरी काठमाडौं ल्याई उनीहरुलाई स्वदेश फर्काइएको थियो।


उद्धार हुनु अगाडि विदेशी पर्यटकलाई स्थानीयले निःशुल्क खाना र बास उपलब्ध गरेकोमा नेपालका लागि बेलायती राजदूतले नेपालीको प्रशंसा गरेकी हुन्। ‘मलाई नेपालमा तपाईंहरुको सेवा गर्न पाएर धेरै गर्व छ,’ उनले ट्वीटरमा भनेकी छन्।

विश्वभर कोरोना भाइरसको संक्रमण तीव्र रुपमा बढेपछि र नेपालमा पनि यो भाइरसका संक्रमित भेटिएपछि सरकारले नेपाललाई लकडाउन गरेको थियो। लकडाउनका कारण अप्ठ्यारोमा परेका आफ्ना नागरिकलाई सम्बन्धित देशका काठमाडौंस्थित दूतावासले नेपाल सरकारसँग समन्वय गरेर स्वदेश फर्काइरहेका छन्।