१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशका नेपालीको उद्धारमा कूटनीतिक पहल गर : सभापति देउवा

नेपालब्रिटेन संवाददाता
१८ चैत्र २०७६, मंगलवार १५:१२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार सम्बन्धमा हालसम्मको आफ्नो कार्यप्रगति र कमजोरीको वस्तुगत समीक्षा गरेर सरकारलाई प्रभावकारीरूपमा गति बढाउन आग्रह गर्नुभएको छ ।

नेपालमा रहेका आफ्ना नागरिक कयौँ देशले चार्टर विमानद्वारा उद्धार गरी स्वदेश लगिरहेको बताउँदै सभापति देउवाले विभिन्न देशबाट आफ्नो देश फर्कन चाहनेको हकमा तथा अध्ययन, श्रम र तीर्थयात्रा क्रममा भारतको विभिन्न राज्यमा अड्किएका नेपालीको उद्धार गर्न सरकारले जरुरी कूटनीतिक पहल गर्न अत्यावश्यक रहेको उल्लेख गर्नुभएको छ । उद्धारपूर्वको अवस्थामा आवश्यक गाँसबासको ब्यवस्थापनका लागि दूतावासमार्फत स्थानीय रूपमा पहल गर्न पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।

सभापति देउवाले भन्नुभएको छ, “भारतको विभिन्न ठाउँमा रहेका नेपाली महाकाली पारी सयौँको सङ्ख्यामा आइपुगेर दार्चुला प्रवेश गर्न चाहँदा उत्पन्न जटिलताको व्यावहारिक हल खोज्न म सरकारलाई अनुरोध गर्दछु । कडाइका साथ प्रवेश, परीक्षण र क्वारेन्टाइन सुनिश्चित गर्न या अन्य वैकल्पिक प्रक्रियाले तत्काल समस्या समाधान गर्न म ध्यानाकर्षण गराउँदछु ।”

संयुक्त अरब इमिरेट्स (युएई)ले रोजगारदाता कम्पनीलाई आफ्ना श्रमिक कटौती गर्न या बेतलबी बिदामा राख्न पाइने गरी हालै प्रक्रिया शुरु गरेको विषयमा काँग्रेसले यसले नेपाली श्रमिकलाई पर्न सक्ने असर र उत्पन्न गर्ने जटिलताप्रति नेपाल सरकारको सजगताका लागि विशेष ध्यानाकर्षण गराएको छ ।