४ बैशाख २०८१, मंगलवार
Follow Us

निगमको वाइड बडी जहाज आज अस्ट्रेलियातर्फ

नेपालब्रिटेन संवाददाता
१९ चैत्र २०७६, बुधबार १२:२३

काठमाडौं । चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अस्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५:३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले लामो गन्तव्यको उडान भर्न लागेको हो । मलेसिया ट्रान्जिट हुँदै अस्ट्रेलियासम्मको यो उडान करिब १३ घण्टाको हुनेछ ।

वाइड बडी जहाजले अस्ट्रेलिया र न्यूजील्याण्डका नागरिकको उद्धारका लागि उडान भर्न लागेको निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले बताउनुभयो । उहाँले छ जना चालक दलसहित २४ जनाको सञ्चालन टोली र २५० यात्रुसहितको यस अद्वितीय उडान फेरी क्वालालम्पुर हुँदै बिहीबार राति नेपालमा अवतरण गर्ने तालीका रहेको जानकारी दिनुभयो ।

वाइड बडी जहाज बिहीबार राति १०:५० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । निगमले बिहीबार चीनको ग्वाङ्जाओ गन्तव्यमा कार्गो उडान गर्दैछ । चीनबाट कोभिड–१९ का लागि आवश्यक औषधि र उपकरण ल्याउन व्यवसायीले निगमको वाइड बडी जहाज चार्टर्ड गरेको बताइएको छ । यसअघि निगमको वाइड बडी ए ३३० जहाजले चैत १६ गते चीनको ग्वाङ्जाओबाट लगभग १३ हजार केजी स्वास्थ्य सामग्री एयरलिफ्ट गरी काठमाडौँ ल्याएको थियो । हाल दुई वाइड बडी ए–३३० र दुई थान न्यारोबडी ए—३२० सिरिजको जहाजबाट निगमले अन्तरराष्ट्रिय उडान गरिरहेको छ ।