८ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए यूरोप बैठक सम्पन्न, ५० हजार यूरोको आपतकालीन कोष स्थापना

नेपालब्रिटेन संवाददाता
२० चैत्र २०७६, बिहीबार १०:४३

लन्डन । संसारलाई आक्रान्त पारेको कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न गैरआवासीय नेपाली संघ यूरोपले ६० लाख रुपैयाँ सहयोग गर्ने योजना बनाएको छ । यूरोप संयोजक नारायण आचार्यको अध्यक्षमा बसेको यूरोप एनसीसीको बैठकले न्यूनतम ५० हजार यूरोको आपतकालीन कोष स्थापना गरी प्रभावित क्षेत्रमा परिचालन गर्ने निर्णय गरेको छ ।

स्काइप विजिनेशको माध्यमबाट सम्पन्न उक्त अनलाइन बैठकमा विशेष आमन्त्रितको रुपमा महासचिव डा. हेमराज शर्मा र कोषाध्यक्ष महेश श्रेष्ठले समेत सम्बोधन गर्नुका साथै एनआरएनए केन्द्रले यसबारेमा लिएको कदमका बारेमा बैठकलाई जानकारी गराएका थिए ।

यूरोप उपसंयोजक कृष्णप्रसाद तिमल्सिनाका अनुसार संयोजक आचार्यको अध्यक्षतामा ३ जना उपसंयोजक, यूरोप क्षेत्रबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य, यसै क्षेत्रबाट प्रतिनिधित्व गर्ने मानार्थ सदस्य, एनसीसी अध्यक्ष तथा महासचिव, यूरोप क्षेत्र महिला तथा युवा संयोजकसमेत रहेको एनआरएन यूरोप कोभिड–१९ विरुद्ध सहयोग समिति गठन भएको छ ।

११ सदस्यीय सचिवालयमा संयोजक नारायण आचार्य, उपसंयोजकत्रय मुक्तबहादुर गुरुङ, कृष्णप्रसाद तिमल्सिना र शुक्रराज न्यौपाने तथा आईसीसी सदस्यहरु रामशरण सिम्खडा (यूके) सुभाष जोशी (बेल्जियम), सुनील रानाभाट (स्पेन) विजय मोक्तान (जर्मन) र चिन्तामणिी सापकोटा (स्पेन) रहेका छन् । बैठकले केन्द्रमा गठित स्वास्थ्य कार्यदलसँग निकट रहेर यूरोप क्षेत्रमा रहेका स्वास्थ्यविज्ञ रहने गरी डा. बोधराज सुवेदी, संयोजक रहेको एक उपसमिति समेत गठन गरेको छ ।

समितिले आजैबाट काम थालनी गर्दै कोभिड–१९ को चरम प्रभाव रहेको यूरोपका देशहरुको खास समस्या सुष्म पहिचान गरी लागत राख्न सुरु गर्ने, सहयोगको आधार तथा प्रकार अल्पकालीन तथा दीर्घकालीन रुपमा गर्न सकिने सहयोगको समेत पहिचान गरी मूल समितिमा एक साताभित्र प्रतिवेदन समेत पेस गर्ने निर्णय गरेको छ ।

गैरआवासीय नेपाली संघ केन्द्रमा रहेको उच्चस्तरीय समितिको मातहत तथा समन्वय यूरोप क्षेत्रमा काम गर्ने तथा केन्द्र संघ आपसी सहयोगका लागि आह्वान समेत गर्ने बैठकले निर्णय गरेको जानकारी आईसीसी सदस्य रामशरण सिम्खडाले दिए ।