१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायत, जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७६, शनिबार ०५:३९

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो । निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिनुभयो ।

“युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन्”, उहाँले भन्नुभयो । निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ ।

यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ । वाइडबडीले लण्डनबाट क्याना र जर्मनीको उडान भर्नेछ । निगमले शुरुमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो । जहाज अभावलगायत कारण देखाउँदै बिचमै सेवा रोकेको थियो । निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो ।

युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । निगमका पूर्व निर्देशक रामहरी शर्माले निगमले देशलाई अफ्ठयारो परेकाबेला सहयोग गर्नुपर्ने दायित्व भएकाले अहिले आफ्नो भूमिकालाई प्रभावकारी बनाएको बताउनुहुन्छ । आर्थिक रुपमा कमजोर रहेको निगमको हालको अवस्थालाई सुधारी सवल बनाउन सरकारले पनि यसको अवश्यकता र सान्दर्भिकतालाई बुझेर प्रवद्र्धनमा ध्यान निदुपर्ने उहाँको भनाइ छ ।

निगमले सातादिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो । त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रबार बिहान दुई चार्टर्ड उडानमार्फत चीनको ग्वाङाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो ।