१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनएले शुरु ग-यो आर्थिक सहयोग सङ्कलन अभियान

नेपालब्रिटेन संवाददाता
२२ चैत्र २०७६, शनिबार ०५:५१

अमेरिका । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीको सहयोगका लागि गैरआवासीय नेपाली सङ्घले आर्थिक सङ्कलन अभियान शुरु गरेको छ । नेपाल सरकारलाई यसअघि नै रु एक करोड सहयोग गर्ने प्रतिबद्वता गरेको सङ्घले त्यसबाहेक पनि ‘एनआरएनए कोभिड–१९ राहत कोष’को स्थापना गरी आर्थिक सहयोग सङ्कलन अभियान अगाडि बढाएको हो ।

सङ्घका अध्यक्ष कुमार पन्तले कोषमा सङ्कलन हुने रकम आवश्यकता अनुरुप नेपाल र नेपाल बाहिर रहेका नेपालीको सहयोगका लागि खर्च गरिने राससलाई बताउनुभयो । सङ्घले एनआरएनए डट ओआरजी वेभसाइटमा गई डोनेटमार्फत तथा एनआरएनए रेस्पेक्ट आइएनसी डट नेट वेभसाइटमा गई अनलाइनमार्फत आर्थिक सहयोग गर्न सकिने व्यवस्था मिलाएको छ । साथै सङ्घले सानिमा बैंकमा खोलेको सङ्घको बैंक खातामा समेत सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

अध्यक्ष पन्तका अनुसार कोषमा सहयोग सङ्कलनको कार्य तीव्र भइरहेको छ । सङ्घअन्तर्गत विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्हरुले समेत आर्थिक सहयोग कोष बनाएरसमेत ती देशहरुमा आर्थिक सहयोग सङ्कलन गरिरहेको जानकारी अध्यक्ष पन्तले दिनुभयो । आर्थिक सहयोग सङ्कलन अभियानबाट यति नै रकम उठाउने भनी लक्ष्य नराखिएको भए पनि करिब रु तीन करोड जम्मा हुने अपेक्षा राखिएको सङ्घले जनाएको छ ।

सङ्घले गैरआवासीय नेपाली सङ्घ दक्षिण कोरिया शाखाले खरिद गरेको करिब रु एक करोड बढी बराबरको स्वास्थ्य सामग्रीसमेत नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ भने पूर्ववत रु एक करोड सहयोगको प्रतिबद्वताअनुरुप नेपाल सरकारले भनेबमोजिम थप आवश्यक सामग्री पठाइने अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

सङ्घले निर्माण गरेको कोभिड–१९, एनआरएनए उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका एनआरएनएका अध्यक्ष पन्तले अहिलेको यो विषम परिस्थितिमा सबै एक भएर अघि बढ्नुपर्ने बताउनुभयो । उहा“ले अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्मार्फत विभिन्न देशमा समस्यामा परेका विद्यार्थीदेखि सबै नेपालीलाई आवश्यक सहयोगको काम भइरहेको जानकारी दिनुभयो । सङ्घको हालसम्म ८१ देशमा राष्ट्रिय समन्वय परिषद् रहेको छ ।

विश्वभर करिब ८० लाख गैरआवासीय नेपाली रहेको बताइन्छ । पछिल्लो समय कोभिड–१९ महामारीको प्रकोप बढिरहेको अमेरिका तथा युरोपका देशहरुमा गैरआवासीय नेपालीको बसोबास बढिरहेको छ । कोभिड–१९ को सङ्क्रमणका कारण पाँच जना गैरआवासीय नेपालीको ज्यान गइसकेको छ ।
– सुरज भण्डारी