१४ बैशाख २०८१, शुक्रबार
Follow Us

हिमाली जिल्लामा हवाई मार्गद्वारा खाद्यान्न ढुवानी

sarusaru
२२ चैत्र २०७६, शनिबार ०७:२९

सुर्खेत । हिमाली जिल्लामा खाद्यन्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई मार्गद्वारा खाद्यन्न ढुवानी शुरुआत गरेको छ।

कर्णालीका हुम्ला, डोल्पा र मुगु जिल्लामा सञ्चालन हुने नीजि विमानद्वारा सरकारले खाद्यन्न ढुवानी शुरु गरेको हो । हुम्ला र डोल्पामा हवाई मार्गबाट खाद्यन्न पठाएको प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री एवम् आपूर्ति समितिका संयोजक नन्दसिं बुढाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम हुन नदिन सरकारद्वारा घोषित लकडाउनमा खाद्यन्न अभाव हुन नदिन नीजि एयरलायन्सबाट प्रदेश सरकारले खाद्यन्न आपूर्ति गरेको उनले बताए ।

उनका अनुसार यस अवधिमा कुनै ठाउँमा खाद्यन्न अभाव भएको खबर नआओस् भने सरकार सक्रिय भएर लागेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भीमबहादुर थापाले हुम्लाको खाद्यन्न अभाव पूर्ति गर्न हाल २०० र मुगुमा १०० क्विन्टल चामल पठाएको जानकारी दिए ।

“डोल्पालगायतका अन्य जिल्लामा अहिले खाद्यन्न मौज्दात नै छ,” प्रमुख उनले भने, “सम्बन्धित जिल्लाले खबर पठाए हामी जतिबेला पनि पठाउन तयारी अवस्थामा छौं।”

प्रमुख थापाले भने, “प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको वडा नं १, ५, ९, १२ र १३ वडामा ५०० क्विन्टल वितरण गरिएको छ।

आपूर्ति समितिले कहीँकतै अभाव हुन दिएको छैन । हामीसँग हाल ४४ हजार क्विन्टल खाद्यान्न मौज्दात छ । यसले कर्णालीको करिब १८ लाख जनसङख्यालाई करिव तीन महिना खान पुग्छ ।

मूलतः यो व्यापार कम्पनीको जगेडा खाद्यन्न मात्र हो । यही परिमाणको चामल नीजि क्षेत्रसँग पनि छ।”

उनले यस अघि वीरेन्द्रनगरका केही वस्तीमा खाद्यन्न वितरण गरिएको र खाद्य आपूर्तिलाई सहज, चुस्त, छरितो र प्रभावकारी बनाउन आपूर्ति समिति लागि परेको बताए।
रासस