१४ बैशाख २०८१, शुक्रबार
Follow Us

विद्युत् चुहावट १५.२ प्रतिशतमा सीमित: १० अर्ब ६६ करोड नाफा

sarusaru
२२ चैत्र २०७६, शनिबार ०७:३७

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७५/७६ मा १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ। महालेखापरीक्षकको कार्यालयबाट भएको अन्तिम लेखापरीक्षणबाट प्राधिकरणले आर्थिक वर्ष २०७५/०७६ मा ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको छ। आव २०७२/७३ मा २५.७८ प्रतिशत रहेको विद्युत् चुहावट आव २०७५/७६मा १५.३२ प्रतिशतमा झरेको छ।

यस्तै, नेपाल फाइनान्सियल रिर्पोटिङ स्ट्यान्डर्ड (एनएफआरएस) अनुसारको व्यापक आम्दानी ८५ करोड ५४ लाखसहित १० अर्ब ६६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको प्राधिकरणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। योसँगै सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये विद्युत् प्राधिकरण सबैभन्दा बढी खुद नाफा कमाउने संस्था बनेको छ।

प्राधिकरणको जगेडा तथा सञ्चित कोष नोक्सानी घटेर १२ अर्ब २३ करोड ३९ लाखमा झरेको छ। आर्थिक वर्ष २०७४/७५ मा प्राधिकरणको खुद नाफा २ अर्ब ८४ करोड ८१ लाख र जगेडा तथा सञ्चितकोष २३ अर्ब ५९ करोड ७९ लाख रुपैयाँ ऋणात्मक थियो।

आव २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटामा र जगेडा तथा सञ्चित कोष ३४ अर्ब ६० करोड ८५ नोक्सानीमा रहेको प्राधिकरणको ऋणात्मक रहेको सञ्चित कोष धनात्मकतर्फ अघि बढिरहेको छ। प्राधिकरणले आव २०७३/७५ र २०७४/७५ मा खुद नाफा क्रमश : १ अर्ब ४६ करोड ७३ लाख र २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको थियो।

विद्युत् चुहावट नियन्त्रणमा हासिल भएको ठूलो सफलता, भारतबाट आयात र निजी क्षेत्रका उत्पादकसँगको विद्युत्को औसत खरिद दरमा आएको कमी, मर्मतसम्भार तथा प्रशासनिक खर्चमा गरिएको नियन्त्रण, लोडसेडिङ अन्त्यपछि ऊर्जा खपतमा वृद्घि, प्राधिकरणका जलविद्युत् आयोजनाको उत्पादनमा वृद्घि, वित्तीय पुनर्संरचनाको प्रभावकारी कार्यान्वयलगायत संस्था तीन वर्षदेखि निरन्तर खुद नाफामा जान सफल भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

एक प्रतिशत विद्युत् चुहावट घटाउँदा करिव ७० करोड रुपैयाँ प्राधिकरणलाई फाइदा हुन्छ। विद्युत् चुहावट घट्दा यसको सकारात्मक प्रभाव प्राधिकरणको विद्युत् बिक्रीबाट प्राप्त गर्ने आम्दानीमा परेको छ। प्राधिकरणले आव २०७५/७६ मा ३८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँको विद्युत् खरिद गरेको छ भने विद्युत् बिक्रीबाट ६६ अर्ब ६१ करोड २९ लाख रुपैयाँ आम्दानी गरेको छ।

आव २०७४/७५ मा यस्तो आम्दानी ५५ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ थियो। विद्युत् खरिदमा ३४ अर्ब १३ करोड रुपैयाँ खर्च भएको थियो। प्राधिकरणले विद्युत् आयोजनाको १ अर्ब ५० करोड १७ लाख रुपैयाँ रोयल्टी सरकारलाई बुझाएको छ।
अन्नपूर्ण पोष्ट