१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती महारानीको दुर्लभ सम्बोधन

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार ११:००

एजेन्सी । बेलायतकी महारानी एलिजावेथले आइतबार देशवासीका नाममा सम्बोधन गरेकी छिन्। दुर्लभ मानिने सम्बोधनमा उनले सन् १९४० ताकाको दोस्रो विश्वयुद्धको समयको सम्झना गरिन्।
कोरोना भाइरसका कारण आफ्ना नजिकका व्यक्ति तथा घर परिवारसँग छुट्टिनु परेको घटनाले सन् १९४० को याद दिलाएको बताएकी हुन्।
उनले १९४०मा एलिजावेथले विन्डसोरबाट आफ्नी दिदीको सहयोगमा सुरक्षाका लागि घरबाट टाढिनु परेका बालबालिकाहरूलाई सम्बोधन गरेकी थिइन्।

‘यसले मलाई १९४०मा विन्डसोरबाट गरेको पहिलो प्रसारणको याद दिलाउँछ, त्यतिबेला मेरी दिदी र मैले घरबाट सुरक्षाका लागि निकालिएका बालबालिकाका लागि बोलेका थियौं,’ उनले भनिन्,’आज फेरि धेरैले आफ्ना नजिकका व्यक्तिहरूसँग छुट्टिनु परेको दर्दनाक भावना महशुस गर्नुहोला तर हामीलाई थाहा छ की यसो गर्नु नै सही कुरा हो।’
उनले कोरोना भाइरसको महामारीलाई बेलायतले जित्ने आशा व्यक्त गरिन्।

महारानीले सरकारको नियम पालना गरेर घरभित्रै बसेका र आपतकालीन सेवामा काम गर्ने सबैलाई धन्यवाद दिइन्। उनले यसपालिको चुनौती अरूभन्दा भिन्न रहेको बताइन्।
‘हामीले यसअघि पनि चुनौतीहरूको सामना गरिसक्यौं तर यो भिन्न छ,’ उनले भनिन्,’यसपालि हामी विश्वका सबै राष्ट्रको एउटै उद्देश्य लिएर जानेछौं।’

९३ वर्षीया महारानी एलिजावेथले राजगद्दी सम्हालेदेखि गरेको यो पाचौं सम्बोधन हो। उनले यसअघि सन् २०१२मा डाइमन्ड जुब्ली मनाउन देशवासीका नाममा सम्बोधन गरेकी थिइन्।
महारानीको सम्बोधनको केही घन्टा नबित्दै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। गत मार्च २७ देखि कोरोना भाइरसको संक्रमणका कारण सेल्फ आइसोलेसनमा बसेका जोनसन आइतबार अस्पताल भर्ना भएका हुन्।

बेलायतमा सोमबारसम्म ४७ हजार बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ भने ४ हजार ८ सय ३४ जनाले ज्यान गुमाइसकेका छन्।