१३ बैशाख २०८१, बिहीबार
Follow Us

दूतावासले ‘विद्यार्थी सहयोग’ संयोजनका लागि मर्जिङ नेपसक्सलाई तोक्यो

नेपालब्रिटेन डट कम्
२४ चैत्र २०७६, सोमबार २०:०५

लण्डन । कोरोना भाइरसका कारण उत्पन्न जटिल अवस्थामा समस्यामा परेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको सहयोगका लागि लण्डनस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ । सहयोगको खाँचो परेका विद्यार्थीहरुलाई दूतावासले ‘मर्जिङ नेपसक्स’ मार्फत आवश्यक सहयोग उपलब्ध गराउने भएको छ ।

प्रवक्ता शरदराज आरनले सोमबार दिउँसो जारी गरेको वक्तव्यमा विद्यार्थीहरुको सहयोगका लागि दूतावाससंग समन्वय गर्दै काम गर्ने जिम्मा ‘मर्जिङ नेपसक्स’लाई लगाइएको जानकारी दिइएको छ ।

यसअघि बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था ‘मर्जिङ नेपसक्स’का अध्यक्ष पवन कँडेलको संयोजकत्वमा दूतावासले युवा तथा विद्यार्थी सहयोग समिति गठन गरेको थियो ।

सोहि समितिको सहयोगमा विद्यार्थीहरुसंग समन्वय गर्ने, विवरणहरु अद्यावद्यिक गर्ने, आवश्यक सहयोग संकलन गर्ने र प्राथमिकता बमोजिम सहयोग उपलब्ध गराउने कार्यको लागि दूतावाससंग समन्वय गरी कार्य गर्न ‘मर्जिङ नेपसक्स’लाई तोकिएको दूतावासले जनाएको छ ।

दूतावास र ‘मर्जिङ नेपसक्स’ दुवैले आ-आफ्ना माध्यमबाट समस्यामा रहेका विद्यार्थीहरुको विवरण संकलन गरिरहेका छन् । दुवै स्रोतका विवरणलाई एकिकृत गर्दै गम्भीर समस्यामा परेका विद्यार्थीलाई प्राथमिकताका आधारमा ‘मर्जिङ नेपसक्स’कै माध्यमबाट सहयोग बाँडिने दूतावासले स्पष्ट पारेको छ ।

नेपाली विद्यार्थीहरुका समस्या समाधानको लागि बेलायत सरकार र सम्बन्धित विश्वविद्यालयहरुसंग समेत कुराकानी भइरहेको दूतावासको भनाइ छ ।

विद्यार्थीहरुको लागि सहयोग गर्न ईच्छुक सबैलाई मर्जिङ नेपसक्सकै एक द्धारबाट सहयोग गर्न समेत दूतावासले आव्हान गरेको छ । ‘गैरआवासीय नेपाली संघ लगायत विभिन्न समाज, संघसंस्था र समाजसेवीहरुमा आफ्नो सहयोग मर्जिङ नेपसक्समार्फत उपलब्ध गराइदिनुहुन हार्दिक अनुरोध गरिन्छ । विद्यार्थीको जिम्मा हामी लिन्छौं । दूतावासको समन्वयमा उनीहरुलाई सहयोग उपलब्ध गराउने काम मर्जिङ नेपसक्सले गर्छ । एनआरएनए र अरु संस्थाले पनि विद्यार्थीलाई दिने सहयोग यहि माध्यमबाटै दिनुहोस्’, दूतावासका प्रवक्ता आरनले नेपाली लिंकसंग भने, ‘तपाईंहरुसंग आउने विद्यार्थीका सबै समस्याहरु मर्जिङ नेपसक्समा रिफर गर्नुहोस्, केहि सहयोग आउँछ भने पनि यतैबाट पठाउनुहोस् ।’

एनआरएनए र अरु संघसंस्थालाई आफ्ना सहयोगका कार्यक्रम विद्यार्थीबाहेकमा केन्द्रित गर्न समेत आरनले आग्रह गरेका छन् ।

दूतावास स्रोतका अनुसार अब विद्यार्थीहरुको सहयोगको लागि ‘मर्जिङ नेपसक्स’को खातामा सहयोग कोष संकलन गरिनेछ । कोष संकलनदेखि वितरणसम्मका सबै कार्य ‘मर्जिङ नेपसक्स’ले नै गर्नेछ भने आवश्यक समन्वय र निर्देशन दूतावासले प्रदान गर्नेछ ।