१५ चैत्र २०८०, बिहीबार
Follow Us

कस्ता विरामीलाई आईसीयूमा भर्ना गरिन्छ ?

नेपालब्रिटेन संवाददाता
२५ चैत्र २०७६, मंगलवार १०:०१

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको उपचार लन्डनको सेन्ट थोमस अस्पतालको इन्टेन्सिभ केयर युनिट (आइसीयु) मा भइरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा छिटो सुधार होस् भनेर डाक्टरको सल्लाहमा आइसीयुमा भर्ना गरिएको हो ।

के हो आइसीयु
आइसीयु विशेष वड हो, जहाँ विरामीको अवस्था गम्भीर हुन्छ र चिकित्सकहरुले ती विरामीलाई नजिकबाट नियालिरहेका हुन्छन् । आइसीयुमा विरामीको संख्या थोरै र चिकित्सकीय टोलीको संख्या धेरै हुन्छ । जसले गर्दा प्रत्येक विरामीलाई चिकित्सकले नजिकबाट नियालिरहेका हुन्छन् । आईसीयुमा विरामीलाई गहन निगरानीका लागि उपकरणसमेत जडान गरिएको हुन्छ ।

कस्तालाई पर्छ आइसीयु
कस्ता विरामीलाई आइसीयुमा भर्ना गरिएको हुन्छ, त्यसको बेग्लाबेग्लै कारण हुनसक्छन् । कुनै विरामीको गम्भीर प्रकृतिको सर्जरी गरिएको छ भने त्यसको रिकभरीका लागि आइसीयुमा राखिन्छ, कुनै व्यक्ति ट्रमाका कारण राख्नुपर्छ, जो सडक दुर्घटना गम्भीर रुपमा घाइते भएको हुन्छ ।

प्रधानमन्त्री बोरिस जोनसनमा कोरोना लक्षणको कुनै सुधार नआएपछि उनलाई आइसीयुमा राखियो । स्वास्थ्यमा सुधार ल्याउने हो भन प्रधानमन्त्री जोनसनलाई आइसीयुमा भर्ना गर्नुपर्ने डाक्टरले सल्लाह दिए । स्वास्थ्यमा सुधार नआए पनि त्योभन्दा बढी बिग्रन नदिनका लागि उनलाई आइसीयुमा राख्नुपर्ने डक्टरको सल्लाह थियो ।

उनलाई गत आइतबार सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसले फोक्सोमा क्षति पु¥याउन सक्छ । प्रधानमन्त्री जोनसनलाई श्वासप्रश्वासमा समस्या भइरहेको छ । यद्यपि उनलाई तत्काल भेन्टिलेटरमा राख्नु परेको छैन ।

आइसीयुमा के हुन्छ ?
आइसीयुमा भर्ना भएका सबै कोरोना संक्रमितलाई भेन्टिलेटरमा राख्न आवश्यक हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण हुन्छ, ताकि विरामीको श्वासप्रश्वास चलिरहोस् । केही मानिसलाई श्वास लिन सहयोग गर्ने मेसिन जसलाई सीपीएपी भनिन्छ, त्यो लगाइन्छ । यसमा एक किसिमको मास्कको माध्यमबाट अक्सिजन हल्का दबाबका साथ दिइन्छ ।