६ बैशाख २०८१, बिहीबार
Follow Us

मासिक रु चार करोड विप्रेषण एउटै वडामा

नेपालब्रिटेन डट कम्
१६ मंसिर २०७३, बिहीबार ०४:१७

गुल्मी । गुल्मीको वामी गाविस वैदेशिक रोजगारबाट जिल्लामा सबैभन्दा बढी विप्रेषण भित्र्याउने गाविस मध्येमा पर्दछ । गाविसको एउटै वडाका विभिन्न मुलुकको वैदेशिक रोजगारीका लागि चारसयजना भन्दा बढी युवा गएको पुष्टि भएको छ ।

उनीहरुबाट ती मुलुकमा हुने गरेको न्यूनतम तलब आम्दानी जोड्दा पनि झन्डै साढे चार करोड आम्दानी एकै महिनामा हुने गरेको छ । वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिले मात्रै विभिन्न मुलुकमा रहेका वामी–९ का युवाको सङ्ख्या पाँचसय ४५ जनाको तथ्यांक निकालेको छ ।

करिब २० वर्षअघि जापानबाट सुरु हुन्छ वामी–९ का युवाको वैदेशिक रोजगारको यात्रा सो वडा नम्बर ९, टोड्केका वोमबहादुर रायमाझीका छोरा लेखबहादुर रायमाझी र सोही वडा भेडुवाबाट काठमाडौँ बसाइँसराइ गर्नुभएका खिमबहादुर खरालका छोरा योगेन्द्र खराल आजभन्दा १८ वर्षअघि जापान एकै साथ पुग्नभएको थियो ।

उहाँहरु पुगेपछि त्यहाँका युवाको लर्को त्यसतर्फ लाग्न थाल्यो । अहिले वडा नं ९ बाट दुईसय महिला र पुरुष जापानमा पुगेको वामी–९ अन्तर्राष्ट्रिय सम्पर्क समितिका केन्द्रीय अध्यक्ष दिलीप थापाले जानकारी दिनुभयो । यसरी ती दुईसय जनाबाट न्यूनतम मासिक रु एक लाखका दरले हिसाब गर्दा पनि एकै महिनामा दुई करोड त्यहाँ पुगेका युवाले कमाउने गरेका छन् ।

अस्ट्रेलियामा १० जना पुगेका छन् । उनीहरुबाट न्यूनतम रु एक लाखका दरले पनि महिनमा रु ५० लाख कमाई हुने गरेको छ । युकेमा ५० जना रहेका छन् । उनीहरुबाट न्यूनतम डेढ लाखका दरले रु ७५ लाख एकै महिनामा कमाई हुने गरेको स्पष्ट हुन्छ ।

अमेरिकामा १० जना रहेका छन् । उनीहरुबाट न्यूनतम रु एक लाखका दरले मासिक १० लाख कमाई हुने अनुमान गरिएको छ । न्युजिल्यान्डमा ३५ जना छन् । उनीहरुबाट पनि मासिक एक लाखका दरले न्यूनतम मासिक रु ३५ लाख आम्दानी हुने गरेको छ ।

मलेसियासहितका खाडी मुलुकमा सयजना रहेका र उनीहरुबाट न्यूनतम मासिक रु २५ हजारका दरले रु २५ लाख कमाईको अनुमान गरिएको छ । भारतमा दुईसय जनाबाट न्यूनतम मासिक १० हजारका दरले रु २० लाख कमाई हुने अनुमान गरिएको छ ।

यो तथ्याङ्कबाट अन्य सहरमा घर–घडेरी खरिद नगर्ने हो भने एउटै वडा नं ९ मा मात्रै मासिक चार करोड १५ लाख रुपैयाँ विप्रेषण रकम भित्रिन सक्छ । स्वदेशमा शिक्षक, अन्य सरकारी र सङ्घसंस्थामा भएका जागिरे समेतको हिसाब गर्दा न्यूनतम मासिक रु पाँच करोड नगद कमाई हुने स्थलगत अध्ययनको तथ्याङ्कले देखाएको छ ।
– कौरव खत्री