१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कस्मेटिक उत्पादन गर्ने आयुर्वेद उद्योगमा सिलबन्दी

sarusaru
२८ चैत्र २०७६, शुक्रबार ०८:५८

भक्तपुर : आयुर्वेदको स्वीकृति लिएर विभिन्न कस्मेटिक सामान उत्पादन गर्ने भक्तपुरको सूर्यविनायक नगरपालिका ३ बालकोटस्थित परेली आयुर्वेद हाउसमा सिलबन्दी गरिएको छ।

काठमाडौं बिजुलीबजारस्थित औषधि व्यवस्था विभागका औषधि अधिकृत धनबहादुर बोहोरा र महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट नेतृत्वको टोलीले बिहीबार उक्त उद्योगमा सिलबन्दी गरेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले उक्त उद्योगले आयुर्वेदसम्बन्धी काम गर्ने अनुमति पाएकोमा विभिन्न किसिमका कस्मेटिक चिजवस्तुहरुको उत्पादन, प्याकिङ, लेभलिङलगायतका कार्य गरेको भेटिएको जानकारी दिए।

उद्योगमा सिलबन्दी गर्नुका साथै सञ्चालिक काभ्रेपलाञ्चोकको साविक बाङथली ९ स्थायी घर भएकी ३६ वर्षीया कमला उप्रेती (अर्याल) लाई नियन्त्रणमा लिइएको उनले बताए।

उनका अनुसार उप्रेतीले घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरमा हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यका साथ उद्योग दर्ता गरेकी थिइन्। ‘तर हर्बलजन्य वस्तु उत्पादन गर्ने उद्देश्यविपरीत उद्योगबाट अनधिकृत रुपमा साबुन, विभिन्न ब्राण्डका क्रिम, कपालमा लगाउने तथा मसाज गर्ने तेल, लोसनलगायतका कस्मेटिक सामानहरुको उत्पादन, प्याकिङ तथा लेभलिङसमेत गरेको पाइयो’, प्रहरी नायब उपरीक्षक गिरीले भने।

प्रहरीले उद्योगको उत्पादन, प्याकिङ, लेभलिङ र स्टोर गरेका कोठाहरुसँगै मुख्य प्रवेशद्वारसमेत सिलबन्दी गरेको छ।

प्रहरी नायब उपरीक्षक गिरीका अनुसार उक्त उद्योगले अनधिकृत सामानको उत्पादन तथा बिक्री वितरणसमेत गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा औषधि व्यवस्था विभागका अधिकृतको उपस्थितिमा उद्योगमा छापा मारेको थियो।

उत्तः घटनासम्बन्धमा सम्बन्धित विभाग र निकायसँग समन्वय गरी थप अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ।

अन्नपूर्ण पोष्ट