१५ चैत्र २०८०, बिहीबार
Follow Us

गायक डा. सुमन थापासँगको पलेँटी शृङ्खला युट्युबमा

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७६, शुक्रबार १८:५१

काठमाण्डौ । नेपालयले संचालन गर्दै आएको सांगीतिक कार्यक्रम पलेँटीमा संग्रहित गीतहरू केहि बर्षदेखि युट्युबमा अपलोड गर्दै आएको थियो । केही महिनादेखि भने २०१९ मा आयोजित पलेँटी कार्यक्रमका पूरै कार्यक्रमलाई शृंखलाबद्ध रुपमा सार्वजनिक गर्दै आइएको छ ।

यसै क्रममा संगीतकार आभास, गीतकार श्रवण मुकारुङका सिर्जनामा आधारित रहेर गायक डा.सुमन थापाद्वारा केहि समय अघि पलेँटीमा प्रस्तुत कार्यक्रमको पहिलो भाग अब सार्वजनिक भएको छ । सो कार्यक्रमको लाइभ रेकर्डिङ ४ भागमा सम्पादन गरी हरेक हप्ता धारावाहिक रुपमा पलेटीँको च्यानल http://www.youtube.com/paleti मा उपलब्ध हुने भएको छ । त्यसैले अबका केही साता पलेँटीको च्यानलमा डा. सुमन थापाका नयाँ गीतहरू सँगै क्रमशः उनको सांगीतिक र पेशागत अनुभव सुन्न, हेर्न सकिने छ ।

डा. सुमन पेशाले नेत्र विशेषज्ञ हुन् । नेपालयले गत अक्टोबरमा डा. सुमन थापाको पेसा र ‘प्यासन’लाई ध्यानमा राखेर पलेँटी डिजाइन गरेको थियो । यस शृंखलामा डा. सुमनले गाएका धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् । शृङ्खलाको आरम्भमा सुमनकै संगीतका दुई गीत पनि समेटिएका छन् जसमा गीतकार रत्न शमशेर थापाको रचना पनि रहेको छ ।

‘गीत गाएर पलेँटीको मञ्चमा गाउन पुग्छु भन्ने कुरा त मैले सोचेकै थिइन । त्यसमा पनि एक्कैसाथ यतिधेरै नेपाली गीत गाउछु भन्ने त झन् सोचेकै थिइन । तर पलेँटीले गर्दा श्रवणजी र आभासजीसँग रचनात्मक संगत गर्न पाएँ । यो क्षण मेरो सांगीतिक जीवनकै महत्वपूर्ण मोड हो । त्यो मोडको मजा युट्युबमार्फत् आम प्रशंसक माझ बाड्न पाउँदा एकदमै खुसी लागेको छ ।’ डा. सुमनले भने ।

प्राय पश्चिमी शैलीमा अँग्रेजी गीत गाउन रुचाउने डा. सुमन, पलेँटीमा भने नेपाली गीत लिएर उपस्थित छन् । प्रायजसो सामुन्ने रहेको आँखा जाच्ने यन्त्र ‘स्लिट ल्याम्प’मा तिलगंगा र क्लिनिकमा देखिने डा. सुमन पलेँटीको भिडियोमा भने आफ्नो मनपर्ने बाजा गिटारका साथ देखिने छन् ।

‘डा. सुमन थापासँगको पलेँटी सफल र प्रयोगात्मक कार्यक्रम थियो जसमा स्थापित गीतकार श्रवण मुकरुङ र संगीतकार आभासले प्राय अँग्रेजी भाषामा गीत गाइरहेका सौखिन गायकसँग सहकार्य गरेका थिए । भविष्यका पलेँटीमा पनि यसखाले सिर्जनात्मक सह-कार्यको प्रयोगलाई निरन्तरता दिने सोचमा छौं ।’ आयोजक संस्था नेपालयका किरण कृष्ण श्रेष्ठले प्रष्ट्याए ।

डा. सुमन संगको पलेँटीलाई ‘पलेँटी नेपालय’ नामको युट्युबको यो लिंक https://youtu.be/n6dbe-Z_vBw मा गएर हेर्न र सुन्न सकिन्छ ।

yk hfgsf/Lsf lglDt