१४ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ८ पुग्यो, थप एक भूपू गोर्खाको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७६, शनिबार १२:१७

लन्डन । कोरोना भाइरसको संक्रमणबाट बेलायतमा भूपू क्विन्स गोर्खा याम बहादुर मल (मल्ल) को निधन भएको छ । बेलायतको स्वीन्डनमा बस्दै आएका उनको शनिबार बिहान कोरोना संक्रमणका कारण निधन भएको हो ।
स्वास्थ्यस्थिति कमजोर बन्दै गएपछि उनलाई चार दिन अगाडि स्वीन्डनस्थित ग्रेट वेष्टर्न हस्पिटलमा भर्ना गरिएको थियो । हस्पिटलमा उपचारकै क्रममा आज बिहान करिब तीन बजेतिर उनको मृत्यु भएको समाजसेवी एवं क्षेत्री समाज बेलायतका अध्यक्ष राजन कुमार क्षेत्रीले जानकारी दिए ।

उनलाई ज्वरो आउने, रुघाखोकी, डाइरिया तथा बमिटिंग लगायतको समस्या उत्पन्न भएपछि हस्पिटल लागिएको र ४८ घण्टापछि कोरोनाको पुष्टि भएको क्षेत्रीले बताए ।

सन् २००४ देखि आफ्ना छोरा बुहारी नारायण मल तथा शान्ता मलका साथ बेलायतको स्वीन्डनमा बस्दै आएका मलका तीन छोरी र एक छोरा रहेका छन् ।

स्याङ्जा जिल्लाको वालिङ घर भएका मलको यसअघि नै हंगकंगमा वाइपास सर्जरी गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट बेलायतमा ८ जना नेपालीको ज्यान गैसकेको छ ।