१२ बैशाख २०८१, बुधबार
Follow Us

विश्वभर कोरोना भाइरसबाट १४ नेपालीको मृत्यु

नेपालब्रिटेन डट कम्
२९ चैत्र २०७६, शनिबार २०:३२

लण्डन। विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर हालसम्म १४ नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरिय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको आँकडा अनुसार वेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको वताएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. संजिव सापकोटाका अनुसार युरोप, अमेरिका, अष्ट्रेलिया, मलेसिया र खाडी मुलुकमा गरी हालसम्म कम्तिमा ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।

बेलायतमा सबैभन्दा बढी ८ नेपालीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा चितवनका ४० वर्षीय प्रशान्त अर्याल, पर्वतका ५९ वर्षीय चेतप्रसाद गुरुङ, सोलुखुम्बुका ५८ वर्षीय शिव श्रेष्ठ, पर्वतका ५६ वर्षीय भूतपूर्व गोर्खा सैनिक मेखबहादुर गुरुङ र ६६ वर्षीय लिलाबहादुर राई को मृत्यु भएको हो । पारिवारीक भेटघाटका लागि बेलायत आएका अर्का ७५ कर्ण बहादुर क्षेत्रीको गत बुधवार मुत्यु भएको छ । यस्तै एम बहादुर मल्लको ८६ वर्षको उमेरमा शनिवार बिहान ज्यान गएको छ ।

त्यस्तै, कोरोना संक्रमणका कारण अमेरिकामा ५ नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँचथर घर भएका ५० वर्षीय अनिल लिम्बु, सोलुखुम्बुका ४३ वर्षीय ङिमा तेम्बा शर्पा र मुस्ताङका ४८ वर्षीय थोंग्वेन विष्ट रहेका छन् । ४० वर्षीय सोनाम लामाको कोरोनाका कारण मृत्यु भए–नभएको पुष्टी भएको छैन ।

उनलाई उपचारपछि अस्पतालले घरमै बसेर आराम गर्न भनेकाले कोरोना पुष्टी नभएको हो । कोरोनाका कारण मृत्यु भएको भनिएका अर्का नेपाली अजयमान छोचुको भने हृदयघातका कारण मृत्यु भएको हो । उनी उपचाररत अस्पतालले अजयमानको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ रहेको जनाकारी दिएको छ ।

कोरोना संक्रमणबाट संयुक्त अरब इमिरेट्स (युएई) मा एक नेपाली महिलाको मृत्यु भएको छ । रुपन्देहीको देवदह खैरेनीकी ४० वर्षीया बिनु पराजुलीको संक्रमणका कारण मृत्यु भएको युएईस्थित नेपाली दूतावासले जानकारी दियो ।