१५ बैशाख २०८१, शनिबार
Follow Us

नेपथ्यको ‘छोटो गीत’ अब युट्युबमा

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७६, आईतवार ११:२४

काठमाडौँ । नयाँ वर्षको उपलक्ष्यमा नेपथ्यले आफ्ना पुराना गीतहरुमध्ये सन् २००३ मा रिलिज भएको एल्बम ‘भेँडाको ऊनजस्तो’बाट एउटा गीत छनौट गरेको छ । थोरै अवधिको भएकैले ‘छोटो गीत’ नाम दिइएको यस पुरानो गीतका श्रोताहरुले अब आफूलाई यसका दर्शक पनि बनाउनसक्ने भएका छन् । गीतको लम्बाइ एक मिनेट ४९ सेकेण्ड छ । सूर्यास्तसँगै दिन ढल्दैगर्दाको परिवेशमा तयार पारिएको यो म्यूजिक भिडियोले दर्शकहरुलाई अघिल्लो वर्ष २०७६ लाई हार्दिक विदाइ गर्दाको मनःस्थितीतर्फ पनि लैजान सक्छ ।

यस गीतको शब्द तथा संगीत डानियल डन कार्थकले तयार पारेका थिए । नेपथ्यको छैठौं एल्बम अर्थात् ‘भेँडाको ऊनजस्तो’ तयार पार्ने बेलामा डानियल ब्याण्डका बेस गितारिस्ट थिए ।

पछिल्लो केहि वर्षयता नेपथ्यले आफ्नो युट्युब च्यानल www.youtube.com/nepathyaofficial मार्फत् नयाँ गीतहरु सार्वजनिक गर्दै आइरहेको छ । त्यसैगरि पहिल्यै रिलिज भइसकेका पुराना गीतहरुलाई नयाँ ‘म्यूजिक भिडियो’, ‘लिरिक भिडियो’ वा ‘लाइभ भिडियो’का रुपमा तयार पारेर प्रस्तुत गर्ने मञ्चका रुपमा पनि युट्युब च्यानलको उपयोग गर्न थालेको छ । यसै प्रकृया अनुसारै भर्खर केहि दिनअघि नेपथ्यले ‘लिरिक भिडियो’का रुपमा आफ्नो एउटा पुरानो गीत ‘सिमानामा’लाई पनि पुनःप्रस्तुत गरेको थियो । त्यो गीत पनि ‘भेँडाको ऊनजस्तो’ एल्बमबाटै लिइएको हो ।

‘कुनै समय श्रोताहरुको मनमा बसेका हाम्रा पुराना एल्बमका गीतहरुलाई पुनः ताजा बनाउँदै त्यसलाई भिडियोका रुपमा युट्युबमा राख्ने र यसैका आधारमा हाम्रा प्रशंसकहरुसम्म प्रत्यक्ष सम्पर्क पनि निरन्तर स्थापित गरिरहने प्रयासका रुपमा हामीले यो कदम चालेका हौं,’ नेपथ्यको व्यवस्थापनका साथसाथै ब्याण्डका भिडियोहरुको निर्माता संस्था, नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘यो कदमलाई निरन्तरता दिँदै हामी छिट्टै नै नेपथ्यका सबै गीतहरुलाई हेर्नसमेत मिल्ने हिसाबले हाम्रो आधिकारिक युट्युब च्यानलमा राख्ने जमर्को गरिरहेका छौं ।’

यतिबेला रिलिज भएको भिडियो ‘छोटो गीत’ निर्माणको अनुभवबारे पनि श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसको दृश्यांकन दक्षिणी अष्ट्रेलियाको एडिलेडस्थित सुन्दर एल्दिंगा समुद्र किनारमा गरिएको हो । आकाश र पानी जोडिएको देखिने क्षितिजमा सूर्यास्त हुँदैगर्दाको मनमोहक दृश्य यसमा समेटिएको छ । ‘ब्याण्ड सांगीतिक प्रस्तुतीका लागि अष्ट्रेलिया टुरमा भएकै बेला यसको छायांकन गरिएको थियो,’ उनले भने, ‘त्यस टुरमा हामीले ‘भेडाको ऊन जस्तो’ एल्बम कै अर्को गीतपनि छायांकन गरेका छौं जुन गीत हामी छिट्टै प्रस्तुत गर्नेछौं ।’

यो गीतले विश्व मानव समुदायले भोगिरहेको हालको त्रासदी पूर्ण अवस्थालाई पनि प्रतिविम्वित गर्ने भएकाले यति बेलाका निम्ति प्राथमिकतामा राखेर रिलिज गरिएको ब्याण्डका अगुवा तथा मुख्य गायक अमृत गुरुङ बताउँछन् ।
‘भोली के होला भन्ने अनिश्चयका बीच दिनलाई विदा गर्दै रात निम्त्याइरहँदाको अवस्था यस गीतमा अत्यन्त सरल किसिमले वर्णन गरिएको छ,’ अमृत भन्छन्, ‘यो अवस्थाबाट पार हुने कामना यस गीतमा त्यसैगरि उल्लेखित छ जसरी यतिबेला बन्दाबन्दीमा परेका समस्त मानव समुदायको मनमा कुरा खेलिरहेका छन् ।’ विगतका वर्षहरुमा ब्याण्डसँग सानिध्यता राख्ने र आर्शिवाद दिनेहरुलाई धन्यवाद दिँदै यो गीत केहि समययता आफूले फेरि सम्झिरहेको अमृत बताउँछन् ।

‘यसका संगीतकार डानियल लगायत नेपथ्यको निर्माणमा योगदान दिने सबै संगीतकर्मीहरु मित्रहरु प्रति म कृतज्ञता प्रकट गर्दछु,’ उनी भन्छन्, ‘जीवन भनेको संझना त रहेछ । नयाँ विहानको छटपटी, सार्थक परिणाम सहित छिट्टै टुंगियोस’ यहि छ नेपथ्यको कामना ।

‘छोटो गीत’ को यो भिडियो अब युट्युबमा https://youtu.be/23r1R9_SXzU यो लिंक बाट हेर्न सकिन्छ ।

गीतको शब्द यसप्रकार छ–

घाम डुब्यो साँझ प¥यो
अब छुट्टिने पनि बेला भो
आजको नि पनि बित्यो
यो रात काट्ला नकाट्ला
भोलि आउला या नआउला
फेरि भेट होला नहोला
यो छोटो गीत तिमीलाई
फेरि नभेटे सम्मलाई
यदि फेरि भेटै नभए
साँचिराख्नू सम्झनालाई