१३ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायतमा तीन सातामा डेढ दर्जन भूपू गोर्खाको निधन (कुन ठाउँमा कति?)

नेपालब्रिटेन डट कम्
१ बैशाख २०७७, सोमबार १४:४५

लन्डन । कोरोना भाइरसको संक्रमणले बेलायतमा विगत तीन सातामा डेढ दर्जन भूपू गोर्खाले ज्यान गुमाएका छन् । भूपू गोर्खा अभियानका अगुवा ज्ञानराज राईका अनुसार कोरोना भाइरसको महामारीले धेरैजसो भूपू गोर्खाले नियमित औषधि उपचार नपाउँदा अकालमा ज्यान गुमाउनु परेको हाे ।

ज्यान गुमाउने मध्ये केहीलाई कारोनाको आशंका गरिएको छ, तर पुष्टि हुन कठिन छ, राईले भने– ‘कहाँ के भइरहेको छ थाहा हुनसकेको छैन्, साथमा छोराछोरी पनि छैनन् । बुढाबुढी सूचना दिनसक्ने अवस्थामा छैनन्, भित्रभित्रै मर्ने अवस्था आयो, खबर पाउँन मुस्किल छ ।’

सत्याग्रह समितिका उपसंयोजक सूर्य नेम्वाङका अनुसार बिगत तीन सातामा ज्यान गुमाउने भूपू गोर्खाको मात्र संख्या १६ नाघिसकेको छ । उपसंयोजक नेम्वाङका अनुसार हन्स्लो र फेलथाम ४, रेडिङ ४, वेम्ली र नर्थल ४, प्लम्स्टेड १, नैनिटन १, स्वीडनमा १, स्वीउच १ जनाको ज्यान गइसकेको छ ।

वेलायतका करिब ३५ हजारभन्दा बढी भूपू गोर्खा सैनिक बसोबास गर्दै आएको सत्याग्रह समितिले जनाएको छ । तीमध्ये ७ हजारभन्दा बढी ८० वर्ष काटिसकेका छन् । राईका अनुसार मृत्यु हुनेमा ३ जना महिला समेत छन् । राईले दिएको जानकारीअनुसार आधा दर्जनभन्दा बढी भूपूगोर्खा अझै आइसोलेसनमा छन् ।

कोरोना भाइरसको सन्त्रासले अधिकांश भूपूगोर्खाको मनोबल खस्किएको छ, राईले भने,‘समान पेन्सन र अधिकारको मागलाई बेलायत सरकारले समयमै नसुन्दिदा भूपूगोर्खाले दुःख पाइरहेका छन् ।’

लन्डनस्थित नेपाली दूतावासले कोरोना भाइरसका कारणले १० जना गैरआवासीय नेपालीहरुको मृत्यु भएको जनाएको छ । नेपाली दूतावासका प्रवक्ता शरदराज आरणका अनुसार सोमवारसम्म १० जनाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ, जसमा ६ जना भूपू गोर्खा हुन् ।