१३ बैशाख २०८१, बिहीबार
Follow Us

पाल्पा अनिश्चितकालिन बन्द, जनजीवन प्रभावित

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार ०६:१३

रामपुर । प्रदेश विभाजनमा असन्तुष्टि जनाउँदै आएका पाल्पाका संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समितिले आजदेखि अनिश्चितकालका लागि जिल्ला बन्दको आह्वान गरेका छन् । सरकारले प्रदेश नम्बर ५ बाट पाल्पालाई अलग्याएर प्रदेश नम्बर ४ मा राखेको भन्दै पाल्पामा विरोधस्वरुप आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्दको आह्वान गरिएको हो ।

संयुक्त युवा, तरुण तथा विद्यार्थी आन्दोलन समिति, पाल्पाले सरकारले संविधान संशोधनको नाममा ५ नम्बर प्रदेशलाई टुक्रयाउने कुरा आफूहरुलाई मान्य नहुने भन्दै यसको विरुद्धमा विरोध गर्दै बिहीबार दिनभर जिल्ला बन्द गरिएको थियो ।

बन्दका कारण विद्यालय, विभिन्न सङ्घसंस्था, यातायातका सवारीसाधन, कलकारखाना, बजार, पसल, उद्योग सबै ठप्प हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँबाट बाहिरिने छोटो तथा लामो दूरीका सवारीसाधन नचल्दा यात्रु मर्कामा परेका छन् ।

समितिले पहाडी जिल्ला पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रुकुम र रोल्पालाई तराईबाट अलग्याउन खोजिएको भन्दै बिहीबार साँझ ५ बजेसम्म जिल्ला बन्द गरेको र आजदेखि अनिश्चितकालसम्मका लागि जिल्ला बन्द गर्ने नेपाल विद्यार्थी सङ्घका जिल्ला सभापति कृष्णबहादुर आलेले जानकारी दिनुभयो ।

सरकारले मङ्गलवार संविधान संशोधनका लागि संसद् सचिवालयमा दर्ता गरेको मस्यौदामा प्रदेश नम्बर ५ लाई विभाजन गरी पाल्पा, गुल्मी, अर्घाखाँची, प्यूठान, रोल्पा र रुकुमलाई प्रदेश नम्बर ४ मा राख्न प्रस्ताव गरेको सीमाङ्कन हेरफेरप्रति पाल्पाका सबै राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, उद्योगी, व्यवसायी पनि आन्दोलनमा उत्रेका छन् ।

पूर्वी पाल्पाको रामपुर क्षेत्रमा भने बन्दको खासै प्रभाव परेको छैन । यहाँका नागरिकले न त विरोध न त समर्थन नै जनाएका छन् ।