७ बैशाख २०८१, शुक्रबार
Follow Us

बलिदान गर्न तयार, प्रदेश टुक्र्याउने कार्य अस्वीकार्य

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार ०६:२५

रोल्पा । प्रदेश टुक्र्याएको विरोधमा हप्ता दिनदेखि आन्दोलनरत रोल्पाली र प्यूठानीले बलिदानी गर्न तयार रहेको बताएका छन् । बिहीबार रोल्पाको खुङ्ग्रीमा आयोजित संयुक्त विरोध सभामा बोल्ने वक्ताले यस्तो बताएका हुन् । विकासको मूलप्रवाहवाट पछाडि पारिएका रोल्पा, प्यूठान लगायतका पहाडी जिल्लालाई राज्य पुनःसंरचनाको माध्यमवाट मूलप्रवाहमा आउने अपेक्षा गरिएकोमा पछिल्लो पटकको सीमाङ्कन हेरफेरले थप आक्रान्त बनाएको उनीहरुको आरोप थियो । ५ नम्बर प्रदेशवाट रोल्पा, प्यूठानलगायत जिल्ला छुट्याउने कार्य कदापि स्वीकार्य हुन नसक्ने उनीहरुको मत थियो ।

कार्यक्रममा नेकपा (एमाले) संसदीय दलका सचेतक गोकुलप्रसाद घर्तिमगर प्रमुख वक्ताको रुपमा उपस्थित हुनुहुन्थ्यो । विरोधसभाका वक्तामा रोल्पा—प्यूठान संयुक्त सङ्घर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्मा, एमाले जिल्ला अध्यक्ष हरि घर्ति, नेपाली काग्रेस, रोल्पाका कार्यबाहक सभापति खडग वहादुर खत्री, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष सुरेन्द्र घर्ति, रोल्पा र प्यूठानमा क्रियाशील अन्य सबै राजनीतिक दलका प्रमुख, नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ र उद्योग वाणिज्य सङ्घका अध्यक्ष हुनुहुन्थ्यो । उहाँहरुले ५ नं प्रदेशका पहाडी जिल्लालाई छुट्याउने निर्णय कुनैपनि हालतमा मान्य नहुने मन्तव्य व्यक्त गर्नु भएको थियो ।

रोल्पा प्यूठान संयुक्त सङ्घर्ष समितिको आयोजनामा भएको उक्त संयुक्त विरोधसभामा दुवै जिल्लाका सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।