November 24, 2020
9:17 PM | 3:02 AM

‘अस्पतालबाट डिस्चार्ज भएपछि पनि एकसाता अलग्गै बस्नु राम्रो’

  21/04/2020 मा प्रकाशित

 

डा. निर्मल अर्याल र डा. प्रमोदराज रेग्मी जनस्वास्थ्यविद हुनुहुन्छ । उहाँहरु दुवैजना अहिले बेलायतको बोर्नमाउथ विश्वविद्यालयमा जनस्वास्थ्य अनुसन्धानमा संलग्न हुनुहुन्छ । प्रस्तुत छ उहाँहरुसँग नेपाल पत्रकार महासंघ युके शाखाले सञ्चालन गरिरहेको कोरोनासम्बन्धी जनचेतना अभियानअन्तर्गत कोरोना भाइरसका विभिन्न पक्षमा गरिएको कुराकानीको सारसंक्षेपः

अहिले बेलायतमा कोरोना भाइरस संक्रमणको अवस्था के छ ?

अहिले बेलायतमा कोरोना भाइरसको संक्रमण दर र यसका कारण पछिल्लो हप्तादेखि अस्पतालमा भर्ना हुने दर घटिरहेको सरकारले जनाएको छ । लकडाउनले गर्दा समुदायमा आधारित संक्रमणमा कमी आएको छ तर अस्पताल र केयर होमबाट हुने संक्रमण भने कायमै रहेको बताइएको छ ।

कसैकसैले यसले उच्चतम संक्रमणको विन्दु पार गरिसक्यो पनि भन्छन् । के त्यो सत्य हो ?

यो यसै भनिहाल्न सक्ने अवस्था छैन । बेलायतमा संक्रमण दर घटिरहेको सत्य भए पनि अरु देशको अनुभवलाई हेर्ने हो भने उतारचढाव भइरहन सक्छ र ढुक्क भइहाल्नसक्ने अवस्था छैन ।

कतिपय अस्पतालबाट डिस्चार्ज भएका बिरामी फर्केर अस्पताल भर्ना भएका छन् । के एकपटक कोरोनाको संक्रमण भइसकेको व्यक्तिलाई दोहोर्याएर संक्रमण हुन्छ ?

कोरोना भाइरस लागेर निको भइसकेका बिरामीहरुले यसविरुद्ध लड्ने क्षमता विकास गरेका हुन्छन् जसलाई एन्टीबडी भनिन्छ । यो नयाँ किसिमको भाइरस भएकोले रोगबाट निको भइसकेपछि कति समयसम्म यो क्षमता कायम रहन्छ भन्ने यकिन भइसकेको छैन । विभिन्न देशहरुमा डिस्चार्ज भएका बिरामीहरुमा फेरि स्वास्थ्य समस्याहरु देखिएको पाइएको छ । चीनमा भएको एक अध्ययनले कोरोना संक्रमित बिरामीहरु उपचारपछि सम्पूर्ण लक्षणहरुबाट मुक्त भएपनि उनीहरुको शरीरमा आठ दिनसम्म कोरोना भाइरस रहने देखाएको छ । डिस्चार्ज भएका बिरामीहरुले केही समयसम्म सामाजिक दूरी कायम गर्ने, साबुनपानीले हात धोइरहनेजस्ता कार्यहरु गरिरहनु उपयुक्त हुन्छ ।

नेपाली समाजमा कोरोना संक्रमणका बारेमा सूचना लुकाएको, स्वीकार्न असजिलो मानेको पाइन्छ । के एकपटक कोरोना संक्रमण भएको व्यक्तिसित अरुले सजग बन्न आवश्यक छ ?

बेलायतमा रहेका नेपालीसहित अल्पसंख्यक समुदायका केही ब्यक्तिहरु सम्भावित लान्छनालगायत अन्य ब्यवहारिक कारणले गर्दा (जस्तै बसिरहेको घर वा सँगै बसेका साथीहरुबाट असहयोग) कोरोना भाइरसको लक्षणहरु देखिएपनि स्वास्थ्य सेवालगायत अरु सेवा लिन नचाहने गरेको पाइएको छ । कोरोना भाइरसको संक्रमण देखिए नलुकाइ बरु नेपाली समुदाय वा बेलायत सरकारले उपलब्ध गराएको हटलाइन सेवा र वेबसाइटमा सम्पर्क गरी स्वास्थ्य लगायत दैनिक आवश्यकताका सेवा लिन सकिन्छ ।

माथि उल्लेख गरिए झैं एकपटक संक्रमण भएको ब्यक्तिमा उपचारपछि लक्षणमुक्त भएको एक हप्तासम्म पनि कोरोना भाइरस रहिरहने देखिएकोले कम्तीमा केही हप्तासम्म सजग बन्नु आवश्यक छ । यस बारेमा ठूला अध्ययनहरु नभइसकेकोले कति समयसम्म भन्ने चाहिं अझै स्पष्ट छैन ।

कतिपयले अब गर्मी बढ्दैछ । अब कोरोना फैलँदैन भन्छन् । के गर्मीमा कोरोना बाँच्दैन ?

भाइरस चिसोमा चाँडै फैलने कुरा सत्य हो तर गर्मी बढ्ने बित्तिकै बाँच्नै नसक्ने भन्ने चाहिं सत्य होइन । साउदी अरब, मलेशिया, सिंगापुरजस्ता उच्च तापक्रम र उष्णता भएका देशहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । गर्मी बढ्दै गएपछि संक्रमणमा कमी भने आउन सक्छ । एक सय वर्ष अघि सन् १९१८ मा देखिएको र कम्तीमा पाँच करोड मान्छेको ज्यान लिएको अनुमान गरिएको स्पेनिस फ्लुको संक्रमण दर गर्मी महिनामै उच्च देखिएको थियो ।

कतिपयले मास्क लगाउनु कतिपयले नलगाउनु भन्छन् । खास लगाउनु ठीक कि नलगाउनु ठीक ?

विश्व स्वास्थ्य संगठनले बिरामी र स्वास्थ्यकर्मीबाहेक अरु स्वस्थ ब्यक्तिले मास्क लगाउन नपर्ने सल्लाह दिएको छ । सामान्य मास्क (कपडाले बनाइएको घरेलु र सर्जिकल)को प्रयोगले कोरोना भाइरसको संक्रमणबाट सुरक्षा दिने वैज्ञानिक आधार नरहेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । मास्कले सुरक्षा दिने भ्रममा मानिसहरुले कोरोना भाइरसबाट जोगिन दिइएको सल्लाह पालना नगर्ने (जस्तै नियमित हात नधुने, सामाजिक दूरी कायम नराख्ने) र यसले झन् जोखिम बढाउने तर्क विज्ञहरुको छ । तापनि मास्कको प्रयोगले आफूलाई संक्रमणबाट जोगाउन भन्दा पनि अरुलाई सार्ने सम्भावना कम हुने (जस्तै मास्क लगाएर खोक्दा वा हाँच्छयू गर्दा बाहिर नजाने) हुनाले यसको प्रयोगले फाइदा हुनेकुरा भने नकार्न सकिंदैन । बेलायतको सरकारले आम नागरिकलाई मास्क लगाउनुपर्ने सुझाव दिएको छैन । आमजनतालाई मास्कको प्रयोग गर्ने सुझाव दिइएमा संक्रमणबाट साँच्चिकै सुरक्षा दिने मेडिकल मास्क (जस्तैः एफएफथ्री, एफएफटू, एन ९५) को कमी हुने र साँच्चिकै यी मास्क चाहिने अस्पताल र केयर होमहरुमा कमी हुने अवस्थालाई पनि विचार गर्नुपर्ने हुन्छ । त्यसैले सरकारको निर्देशनलाई नै पालना गर्नु श्रेयस्कर देखिन्छ ।

कोरोनाबाट महिलाभन्दा पुरुष, बालबालिका भन्दा वृद्धवृद्धा बढी चपेटामा परेको देखियो ? यसको कारण के हो?

विभिन्न कारणहरुले गर्दा विश्वमा नै पुरुषभन्दा महिला धेरै बाँच्ने गर्दछन् । जीवनशैली र हर्मोनहरुका कारण महिलाहरुमा श्वासप्रश्वाससम्बन्धी समस्याहरु, उच्च रक्तचाप, मधुमेह, र मुटु रोग पनि कम हुने गर्दछ । महिलाहरु धुम्रपान र मद्यपान कम सेवन गर्ने गर्दछन् । ब्यक्तिगत सरसफाइ र स्वास्थ्य सम्बन्धी निर्देशन पालनामा पुरुषभन्दा महिला बढी सजग पाइएको छ । यी सबै कारणहरुले गर्दा प्रायः सबै देशहरुमा कोरोना भाइरसको संक्रमण दर र मृत्यु दर पुरुषभन्दा महिलामा धेरै कम देखिएको छ ।

बालबालिकाहरुमा पनि वयस्क र वृद्धवृद्धाको तुलनामा कोरोना भाइरसको जोखिम कम देखिएको छ । तर यसको अर्थ उनीहरुमा लाग्दै नलाग्ने भन्ने होइन । बेलायतमा १३ वर्षीय बालकको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने बेलायतमै नवजात शिशुमा समेत संक्रमण देखिएको छ । बालबालिकाहरुमा प्रायः कोरोनाको मध्यमस्तरको लक्षणहरु मात्र देखिएको छ । धेरैजसो बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण नाक, मुख र घाँटीसम्म मात्र पुग्ने र फोक्सोसम्म नपुगी हाल्नेले गर्दा निमोनियाजस्तो गम्भीर संक्रमण पाइएको छैन । बालबालिकाहरुमा भाइरसस‘ग लड्ने क्षमता पनि बढी हुने गर्दछ । बालबालिकाहरुमा कोरोना भाइरस भएपनि धेरै जसोमा सामान्य लक्षण मात्र देखिने हुनाले अरुमा सर्नसक्ने जोखिम भने अत्यधिक रहन्छ ।

हालै एनएचएसले बिरामीहरुलाई विशेष ख्याल गर्न भन्दै चिठी लेखेको छ । हाल बेलायतमा रहेका धेरै गोर्खा वृद्धवृद्धाहरुको धेरै स्वास्थ्य समस्या रहेको देखिन्छ । उहाँहरुले कस्तो सावधानी अपनाउनुपर्ला ?

वृद्धवृद्धाहरुमा दम लगायतका श्वासप्रश्वाससम्बन्धी समस्याहरु एवम् मधुमेह, उच्च रक्तचाप र अन्य मुटुसम्बन्धी समस्याहरु अत्यधिक हुनाले उहाँहरु कोरोना भाइरसको बढी जोखिममा हुनुहुन्छ । त्यसमा पनि बेलायतमा बसोबास गरिरहेका दक्षिण एशियाली मूलका बासिन्दाहरुमा यी समस्याहरु बढी देखिएको छ । जस्तै मधुमेहको समस्या बेलायतका रैथानेभन्दा दक्षिण एशियाली मूलका बासिन्दाहरुमा छ गुणाले बढी छ । यसर्थ दक्षिण एशियाली त्यसमा पनि वृद्धवृद्धाहरु कोरोना भाइरसको दोहोरो जोखिममा हुनुहुन्छ । वृद्धवृद्धाहरुमा रोगसँग लड्नसक्ने क्षमता पनि थोरै हुन्छ । कोरोना भाइरस लागिहालेको खण्डमा निको हुन समय लाग्ने र कठिन हुने भएकोले वृद्धवृद्धाहरुमा मृत्युदर पनि बढी हुने गरेको छ । यही कारणले एनएचएसले उच्च जोखिममा रहेका वृद्धवृद्धाहरुलाई चिठी पठाएर सजग हुन आग्रह गरेको छ । हाल बेलायतका रहेका गोर्खा वृद्धवृद्धाहरुले पनि सकभर घरबाट बाहिन ननिस्कने, संक्रमित भएका वा लक्षण देखिएका (जस्तै ज्वरो, सुख्खा खोकी लागेका) हरुसँग नभेट्ने, सामाजिक र धार्मिक भेटघाटमा नजाने, सकभर किनमेल गर्न नजाने, घरमा एकभन्दा बढी ट्वाइलेट बाथरुम छ भने छुट्टै प्रयोग गर्ने, छुट्टै तौलिया प्रयोग गर्ने गर्दा संक्रमण सर्ने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया