१६ चैत्र २०८०, शुक्रबार
Follow Us

केटाकेटीका निम्ति युट्यूबमा वर्णमालापछि अब स्वरमाला (भिडियो)

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७७, मंगलवार १९:३१

काठमाण्डौ । बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देस्यले नेपालयले संगीतकार तथा गीतकार आभाससंगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ । ती रचना सुन्न हेर्नका निम्ति छुट्टै च्यानलको संचालन पनि भइसकेको छ ।

नेपाली भाषा सिक्न चाहने संसारभरका नेपाली बालबालिकालाई केन्द्रमा राखेर युट्यूबमा ‘नेपाली बाल रचना’ https://www.youtube.com/balrachana नामको च्यानल पनि केही महिना पहिल्यै संचालनमा आएको हो । गएको तिहारमा नेपालयले सोही च्यानलमार्फत् बालबालिकाका निम्ति उपहार स्वरुप वर्णमाला (व्यन्जन) सार्वजनिक गरेको थियो ।

अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ । स्वरमालालाई रोचक बनाउनका निम्ति रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन् ।

‘अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर-अक्षरलाई आभासले यसैगरि चार हरफका गीतमा उनेका छन् । कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुकासाथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्‍याउने छ ।

‘बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन्; त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ । यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो । हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ ।’ सर्जक आभासले भने ।

‘वर्णमाला र स्वरमालाका साथै बालबालिकाका निम्ति उपयुक्त गीति रचनाहरूमा थप काम भइरहेको छ । यो शृंखलामा विषयको विविधता समावेश गरिने छ । यसलाई हाम्रो ‘बाल रचना’ च्यानलमार्फत् सार्वजनिक गर्नुका साथै पुस्तक पनि प्रकाशन गर्ने छौं’ नेपालयका किरणकृष्ण श्रेष्ठले प्रष्ट्याए ।

वर्णमालामा चर्चित गायिकाहरू- मीना निरौला र बेनुका राईले स्वर दिएका छन् । स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर रहेको छ ।