८ बैशाख २०८१, शनिबार
Follow Us

नेपाली समुदायको सहयोग, सुझाव र मार्गदर्शन लिएर काम गर्छु : नवनियुक्त कावा राजदुत आरन

नेपालब्रिटेन डट कम्
२१ असार २०७३, मंगलवार १३:५०

लण्डन । बेलायतका लागि कार्यबाहक राजदुत शरदराज आरनले नेपाली समुदायको सहयोग, सुझाव र मार्गदर्शन लिएर आफुले काम गर्ने बताएका छन । नेपाली दूतावास लण्डनमा बुधवार कार्यबाहक राजदूत तेज बहादुर क्षेत्रीको सम्मानमा आयोजना गारिएको बिदाइ कार्यक्रममा बोल्दै आरनले सो कुरा बताएका हुन । उनले आफ्नो कार्यकालमा नेपाली डायस्पोराबाट उल्लेख्य सहयोग, सुझाव र मार्गदर्शन पाउने आशा व्यक्त 
गर्दै नेपाली समुदायको हितका लागि आफू सधैं कटिवद्ध रहने प्रतिवद्धता व्यक्त गरे । स्वागत भन्दा जति उत्साह र उमंग हुन्छ, विदाइ भनेपछि अलिक नराम्रो लाग्ने रहेछ’, समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले बुधबार सांझ दूतावासमा भने, ‘क्षेत्रीजीले चार वर्ष बेलायत रहंदा नेपाली समुदायलाई लगाएको गुन र दूतावासको भौतिक संरचना परिवर्तनले उहां सधैं हाम्रो मानसपटलमा रहिरहनुहुनेछ ।’ कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको अन्तिम विदाइ कार्यक्रम हुंदै थियो दूतावास भवनमा । हल खचाखच थियो, सायद उनको अन्तिम कार्यक्रम भनेर हुनसक्छ । क्षेत्री पनि मन्तव्यका क्रममा बडो भावुक भए । ‘तपाईंको माया र लन्डनमा बिताएका सुःखद क्षण सबै छाडेर फर्कनुपर्दा मनमा नरमाइलो लागेको छ’, क्षेत्री भन्दै थिए, ‘समयले साथ दियो भने यूकेमै नत्र नेपाल वा जहां भेटे पनि मेरो सहयोग तपाईंहरुलाई रहिरहनेछ । वी गन्न मिस यू अल ।’ सन् २०१२ अप्रिलमा डेपुटी चिफ अफ मिसनका रुपमा लन्डन दूतावास आएका क्षेत्रीले दुई वर्ष भन्दा बढि समय कार्यवहाक राजदूतका रुपमा व्यतित गरे । कार्यवहाक राजदूत हुन पाउनु अवसर र चुनौती दुवै थियो । यस अवधिमा विभिन्न समारोहबीच बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापना र गोर्खा भर्तीको दुई सय वर्ष गांठ मनाइयो ।
हामी फेरि क्षेत्रीलाई राजदूतका रुपमा स्वागत गर्न चाहन्छौं’, कतिपयको चाहना थियो । आफ्नो प्रिजेन्टेसनका क्रममा क्षेत्रीले महाभूकम्पका बेला दूतावासमार्फत करिब ७ करोड रुपैयां नेपाल पठाउन सहयोग गर्ने सबै दाताप्रति आभार व्यक्त गरे । उनले कुटनीतिक क्षेत्रमा आफ्नो पहल, एमआरपी बनाउन चालिएको घर दैलो अभियान, दूतावासको मर्मत सम्भार, स्थानीय समुदायसंग समायोजन, पर्यटन प्रवर्धन आदिमा सक्दो योगदान गरेको पनि बताए । ‘काम गर्ने क्रममा केही त्रुटी भए माफ दिनुहुनेछ’, दुःख मिश्रित मुद्रामा उनले भने । क्षेत्रीले बेलायत र नेपाल दुवैबाट भएका उच्चस्तरिय भ्रमणमा दूतावासको संलग्नताबारे पनि अवगत गराए ।
एट्याची तेजेन्द्र रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा एनआरएनए यूके अध्यक्ष मुछेत्र गुरुङले क्षेत्रीले नेपाली समुदायमा गरेको योगदानको चर्चा गरेका थिए ।
एनआरएनए यूके कोषाध्यक्ष, कपिलवस्तु समाज यूकेका अध्यक्ष र जुलाइ १९ मा लर्डसमा हुन लागेको नेपाली क्रिकेट टिम र एमसीसी बीचको मैत्रीपूर्ण खेल आयोजक समितिका आर्थिक संयोजक दीपक श्रेष्ठले खेल र अर्थ संकलनको विवरण दिए । उनले राष्ट्रको इज्जतसंग जोडिएको खेल सफल बनाउन सबैमा आग्रह समेत गरे । बेलायतस्थित प्रमुख नेपाली संघसंस्थाका करिब डेढसय सहभागी उक्त कार्यक्रममा लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेले सांगीतिक माहोलमा दर्शक नचाए । कार्यक्रममा एनआरएन युरोप संयोजक कुल आचार्य , सूर्य गुरुङ, पशुपति भण्डारी, खगेन्द्र नेपाली , लोक गुरुङ, कृष्ण भट्ट, डा कपिल रिजाल, योगेन क्षेत्री, राजन कंडेल, केशव भण्डारी, ज्ञाम गुरुङ लगायत बेलायतस्थित विभिन्न संघ सस्थाको प्रतिनिधिहरुको उपस्थिति थियो ।