११ बैशाख २०८१, मंगलवार
Follow Us

संशोधन प्रस्तावलाई परिमार्जन गर्नुपर्ने : अध्यक्ष महतो

नेपालब्रिटेन डट कम्
१७ मंसिर २०७३, शुक्रबार १०:१२

विराटनगर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावबाट आपूहरु ठगिएको बताउनुभएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन प्रस्तावबाट मधेसको मागको पूर्णरुपमा सम्बोधन नभएकाले यसलाई परिमार्जन गरेर पारित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

अध्यक्ष महतोले मधेसी, थारु, आदिवासी र जनजातिलाई शासनमा हिस्सेदारीका लागि सङ्घीयता चाहिएको प्रशङ्ग उल्लेख गर्दै सङ्घीयता विरोधी मानसिकताबाट ग्रस्त केही दल र व्यक्तिले वर्षौदेखि शोषित पीडित समुदायलाई अधिकार दिन नखोजेको आरोप लगाउनुभयो ।

संविधान संशोधन प्रस्ताव परिमार्जनका लागि सरकार सकारात्मक हुनुपर्ने उल्लेख गर्दै उहाँले यथास्थितिमा प्रस्ताव पास गर्न खोज्यो भने सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिनुभयो ।

पत्रकारद्वारा राखिएको जिज्ञसामा अध्यक्ष महतोले ५ नं. प्रदेशबाट मधेसको भू–भागलाई छुटयाउन हुने तर झापा, मोरङ्, सुनसरीलाई छुटाउन नहुने, यो कस्तो दोहोरो मानसिकता हो भनि प्रश्न गर्नुभयो ।

उहाँले राष्ट्रिय सभामा एक प्रदेशबाट तीनवटा सदस्य निर्धारण गरेको र बाँकी सदस्य पदमा स्थानीय निर्वाचित पदाधिकारीको आधारमा गर्दा मधेसको प्रतिनिधित्व घट्ने भएकाले सो मान्य नहुने स्पष्ट पार्नुभयो ।

अङ्गिकृत नागरिकलाई राष्ट्रपति, प्रधानमन्त्री बनाउनुपर्ने मधेसी जनता र मधेसी मोर्चाको माग नरहेको चर्चा गर्दै उहाँले नागरिक–नागरिकबीच विभेद् गर्नु हुदैन् भन्नुभयो ।

अध्यक्ष महतोले प्रमुख राजनीतिक दल गैरजिम्मेवार बनेको आरोप लगाउँदै सीमाङकनका र भाषिक समस्या विगतमा आयोगले बुझाएको प्रतिवेदनका आधारमा गर्नुपर्नेमा जोड दिनुभयो ।