१५ चैत्र २०८०, बिहीबार
Follow Us

‘सन्डे मर्निङ लभ यू’का गायक भीम निरौला ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा (भिडियोसहित)

नेपालब्रिटेन संवाददाता
१४ बैशाख २०७७, आईतवार ०८:१८

लन्डन । सात वर्ष अगाडि भाइरल भएको गीत हो, ‘सन्डे मर्निङ लभ यू…’ । गायक थिए, भीम निरौला । गायन, शब्द र भिडियो प्रस्तुतीका कारण यो गीतलाई मजाक गर्ने धेरै थिए । खिसी गरेरै सही, गीत हिट भइदियो । तर, यसको रौनक यतिमै सिमित भएन । बेलायतको चर्चित रियालिटी शो ‘ब्रिटेन्स गट ट्यालेन्ट’ (बिजीटी) मा समेत यो गीत पुगेको छ ।

गायक निरौला स्वयंले शोमा धमाका गरेका हुन्। शोकाे १४ औं संस्करणको अडिसन राउन्डमा उनले बडो प्रफुल्लित भएर गाएको भिडियो अहिले नेपाली प्रयोगकर्ता भाइरल हुँदैछ। बिजीटी विभिन्न प्रकारका कला पस्किएर मनोरञ्जन दिने शो हो।

५४ वर्षीय निरौलाले गाउन सुरु गरेपछि शोमा उपस्थित दर्शकले सँगै गाएका थिए भने उनी स्टेजबाट निर्णायक भएको ठाउँसम्म पुगेर उनीहरुलाई पनि नचाएका थिए। उनको रमाइलो प्रस्तुतीलाई निर्णायकहरुले खुब मन पराए।

उनी स्टेजबाट निस्किएपछि निर्णायकहरु डेभिस वालिएम्स, एल्सा डिक्सन र अमान्डा होल्डेनले एकसाथ ‘सन्डे मर्निङ लभ यू…’ गाएर अर्का निर्णायक सिमन काउवेललाई जिस्काएका थिए। त्यसपछि दर्शकदिर्घाबाट ‘आन वाना लच यू एभ्री डे…’ गुन्जिएको थियो।

निरौला शोको अर्को चरणका लागि छानिएका छन्। ‘तपाईं कहाँबाट आउनु भएको?’ भन्ने निर्णायक अमान्दाको प्रश्नमा निरौलाले ‘रेडिङ (क्यालिफोर्निया)बाट’ भन्ने जवाफ दिएका थिए। निर्णायक सिमनले ‘तपाईंलाई लाग्छ की तपाईंले यो शो जित्नुहुन्छ?’ भन्ने प्रश्नमा निरौलाले आत्मविश्वासी भएर जवाफ फर्काएका छन्, ‘मलाई लाग्छ, म जित्न सक्छु। मेरो लागि यो सपना साकार भएको हो।’

निरौलाको प्रस्तुति मनोरञ्जनले भरिएपछि कार्यक्रमले सामाजिक सञ्जालमा प्राथमिकता दिएको छ। कार्यक्रमको आधिकारिक फेसबुक पेजमा ५ मिनेट २९ सेकेन्डको भिडियो क्लिप्स पोस्ट गरिएको छ। युट्युबमा भने ६ मिनेट ४२ सेकेन्डको भिडियो देख्न पाइन्छ। निरौला पत्नीसहित शोमा पुगेका थिए। उनले सुरुवातमा ‘मैले मेरी पत्नीका लागि लेखेको प्रेमगीत गाउँदैछु’ भनेका थिए।