७ बैशाख २०८१, शुक्रबार
Follow Us

बालुवाटारमा प्रधानमन्त्री पक्षका सांसदको भेला, आवश्यक परे हस्ताक्षर संकलन गर्ने

sarusaru
१७ बैशाख २०७७, बुधबार १०:३९

नेकपाका सांसदहरुले बहुमत देखाएर अगाडि बढ्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू पक्षका सांसदहरुको भेला डाकेका थिए। भेलामा सांसदहरुले आवश्यक परे बहुमत देखाएर अगाडि बढ्न सुझाएका हुन्।

‘भेल फुटेपछि बाँध बाँध्नुको कुनै महत्व छैन’, महेश बस्नेतले भने, ‘हामीले प्रधानमन्त्रीलाई तटबन्ध निर्माण गर्न सुझायौं। आवश्यक परे बहुमत सांसदको हस्ताक्षर संकलन गरौं भनेर सुझाव दिएका छौं।’

उनले नेकपामा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसद रहेको दाबी गरे। पार्टीभित्र अनेक किसिमका गठबन्धन बनाएर छलफल भएकाले बहुमत प्रधानमन्त्रीले देखाइदिए त्यस्तो रोकिने बस्नेतले बताए।

‘राजनीतिक स्थिरताक लागि पनि प्रधानमन्त्रीले बहुमत देखाउनुपर्छ भन्ने धेरै सांसदको सुझाव आयो’, बस्नेतले भने, ‘विभाजन रोक्न बहुमत देखाउँ।’

सांसद बस्नेतले ६० सांसद बालुवाटारमा भेला भएको बताए। ‘प्रधानमन्त्रीको पक्षमा सय बढी सांसद हुनुहुन्छ।’

नेकपाका अर्का सांसद प्रेम आलेले प्रधानमन्त्री केपी ओलीको नाममा ५ वर्षका लागि चुनाव भएकाले त्यसको विकल्प खोज्नु अनुचित हुने तर्क अधिकाशंले राखेको बताए।

सांसद आलेले राष्ट्रिय सभासहित प्रधानमन्त्री ओलीको पक्षमा १ सय २५ बढी सांसद रहेको बताए। उनले हस्ताक्षर संकलन सुरू नभएको उल्लेख गरे।

भेलामा केही सांसदले भने अर्का अध्यक्ष प्रचण्डसँग कुरा क्लियर गरेर अगाडि बढ्न प्रधानमन्त्रीलाई सुझाएका थिए।

यसैबीच एक जना सांसदले भने सेतोपाटीसँग आफूहरूले हस्ताक्षर गरिसकेको बताए।

‘साँझ सचिवालय बैठकमा पेस गर्ने गरी हस्ताक्षर भएको हो। मैले गर्दा ७२ जना सांसदले हस्ताक्षर गरिसकेका छन्,’ ती सांसदले भने।

अर्का एक सांसदले आज साँझ बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री हटाउने प्रस्ताव आए प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोला‌औं त्यहाँ भोट गराऔं भन्ने प्रस्ताव राख्ने जानकारी दिए।

पूर्वमाओवादी पक्षका १७ जना सांसदले पनि प्रधानमन्त्री ओली संसदीय दलमा सहयोग गर्ने वचन दिएको उनले दाबी गरे।

उनले पनि अहिले बालुवाटारमा अहिले हस्ताक्षर सुरू नभएको जानकारी दिए।
सेतोपाटी