इटहरी । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यसअघि नै नेकपा (एमाले)सँग भएको सहमतिका आधारमा वर्तमान सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको बताउनुभएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा निर्माण भएको सुनसरी प्याब्सन भवनसँगै प्याब्सन सुनसरीको १३ आँै जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले अघिल्लो पटक संविधान संशोधनपछि उब्जिएका असहज परिस्थितिको विश्लेषण गर्दै यसअघि नै पुनः संविधान संशोधन गर्ने प्रस्तावमा मधेसवादी दल तथा अन्य आदिवासी जनजातिलगायतका क्षेत्रबाट अडान दोहोरिएपछि एमालेसँग संशोधनको सहमति बनेको दाबी गर्नुभयो ।

सभापति देउवाले आफँैले बनाएको संविधानका विषयमा उब्जिएका तिक्ततालाई मिलेर समाधान गराउनै पर्ने बाध्यात्मक अवस्था रहेको दोहो¥याउनुभयो ।

संविधानमा व्यवस्था भएअनुसार तोकिएकै समयमा तीनवटा निर्वाचन गर्न नसके संविधानको औचित्य समाप्त भई देश असफल हुने अवस्थाबाट जोगाउन पनि सवै राजनीतिक दल एकठाउँमा नउभिई सुखै नभएको उहाँको भनाइ थियो ।

सोही अवसरमा सभापति देउवाले प्याब्सनमा रहेर महत्वपूर्ण योगदान गरेको भन्दै प्याब्सन पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठ तथा भरत श्रेष्ठ, निरज नेपाल ,बाबुराम पोख्रेल, राजेश श्रेष्ठ र चरीबा भनेर चिनिएका जीवनाथ पोख्रेललाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।

कार्यक्रममा नेताहरू फरमुल्ला मन्सुर, ज्ञानेन्द्रबहादुर कार्की मीनकुमार विश्वकर्मा, भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीताराम मेहता, सांसद रेवतीरमण भण्डारीलगायतले शिक्षा क्षेत्रमा निजी क्षेत्रबाट भएको लगानीको सुरक्षाको प्रत्याभूति सरकारले गर्नुपर्ने बताउनुभयो ।

यसैबीच सभापति देउवालाई नेपाली काँग्रेस सुनसरी क्षेत्र नम्वर १ ले धरान क्षेत्रको समग्र विकाससँगै प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

आदिवासी जनजातिको सघन बसोवास रहेको पर्यटकीय क्षेत्र भएकाले यस उपमहानगरपालिकाभित्र प्रान्तीय राजधानी बनाउन प्रस्ताव गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले धरानवासीसँग प्रत्यक्ष सरोकार राख्ने विषयलाई आफूले गम्भीरतापूर्वक लिएर हेर्ने र समस्याको निकासका लागि आफ्नो तर्फबाट सक्दौ पहल गर्ने विश्वास दिलाउनुभयो ।