१५ चैत्र २०८०, बिहीबार
Follow Us

उत्तर कोरियाको सम्पूर्ण गतिविधि अमेरिकी नजरमा

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०२:४५

न्यूयोर्क । अमेरिकाले उत्तर कोरियाका नेता किम जोङ उनलाई पछिल्लो केही दिनयता नदेखेको र स्वास्थ्यका बारेमा आइरहेका खबरहरु नजिकबाट नियालीरहेको बताएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले किमका बारेमा आएका खबरहरुको वास्त‍विकताबारे बुझ्ने काम भइरहेको बताएका हुन् ।

उत्तर कोरियाका सबै गतिविधि र चासोमाथि अमेरिकाले नजिकबाट नियाली रहेको उनले दाबी गरे । उत्तर कोरियाका नेता किम अप्रिल १२ पछि नदेखिएपछि उनी गम्भीर बिरामी परेको हुन सक्ने भन्दै विश्वव्यापी चासो बढेको छ ।

नेता किम वुन्सानमा रहेको रिसोर्टमा आफूलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि बसिरहेको दाबी पनि गरिएको छ । उनी अप्रिल १५ मा हजुरबुवा किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् ।

कतिपयले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी समेत गरेका छन् । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन ।