१३ बैशाख २०८१, बिहीबार
Follow Us

महाकाली पारिका १८ सय नेपाली आज स्वदेश फर्किँदै

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०२:४८

काठमाडौं । एक महिनादेखि भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाका विभिन्न स्थानमा क्वारेन्टिनमा बसिरहेका नेपाली नागरिकलाई आज स्वदेश ल्याइँदै छ । पिथौरागढको धारचुला, बलुवाकोट, झुलाघाट क्षेत्रका विभिन्न क्वारेन्टाइनमा बसेका करिब १८ सय नेपालीलाई गृह मन्त्रालयको निर्देशनमा भारतीय पक्षसँग समन्वय गरी स्वदेश ल्याउन लागिएको हो ।

नेपाल प्रवेशपछि सामान्य सोधपुछसहित स्वास्थ्य जाँच गरेर स्थानीय तह स्तरीय क्वारेन्टाइनमा लाने व्यवस्था मिलाइएको छ । एक महिना भारतीय क्वारेन्टाइनमा बसेका नेपालीलाई नेपाल ल्याएर थप १४ दिन क्वारेन्टाइनमा राखिनेछ ।

दार्चुलामा अढाई सय नेपाली त महाकालीमा पौडी खेलेर तथा ट्युबमा तरेर आइसकेका छन् । उनीहरुमध्ये धेरैलाई महाकाली नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ । रोजगारीका लागि भारतका विभिन्न ठाउँमा गएका नेपाली कोरोना भाइरस बढ्दो संक्रमण र लकडाउनपछि घर फर्किन नेपाल–भारत सीमामा आइपुग्दा रोकिएका थिए ।

घर फर्किन खोज्दा लकडाउनका कारण नेपाल सरकारले सीमा खोल्न नमानेपछि उनीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेको थियो । दार्चुला र बैतडीबाट नेपालीहरु ल्याउने तयारी भइरहँदा भारतसँग सीमा जोडिएको कञ्चनपुरमा भने कै तयारी गरिएको छैन ।

कञ्चनपुरसँग सीमा जोडिएको बनवसा र टनकपुरमा २५१ जना एक महिनादेखि नै भारतीय क्वारेन्टाइनमा छन् । बाँके रुपन्देही लगायतका सीमा क्षेत्रका यसअघि नै घर फर्किसकेका छन् ।