१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दाहालद्वारा ओलीको राजीनामा माग

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार ०२:५६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण सकिएपछि आफूले राजीनामा दिने र उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि सारेका छन् । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहालले राजीनामा माग गरेपछि ओलीले यस्तो प्रस्ताव अघि सारेका हुन् ।

ओलीले चुनाव लडाएर वा संविधान संशोधन गरी राष्ट्रिय सभामार्फत पनि गौतमलाई प्रधानमन्त्री बनाउन सकिने बताएका हुन । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले पनि राजीनामा दिएर निकास दिन प्रधानमन्त्रीसँग माग गरेको बताइएको छ ।

रामबहादुर थापा भने राजीनामाको विपक्षीमा उभिएका छन् । उपाध्यक्ष गौतमले विधि र प्रक्रियाबाट प्रस्ताव ल्याएर निर्णय गर्नुपर्ने माग राखेका छन् । विभिन्न प्रस्तावहरु आएपछि सहमति जुटन नसकेपछि थप छलफल गर्ने भन्दै बैठक २० गते पुन बस्ने गरि टुंगिएको छ ।

बुधबार राति करिब चार घण्टा बसेको बैठकमा सरकारको कामकारबाही र पछिल्लो अवस्थाबारे छलफल भए पनि कुनै पनि निर्णय हुन नसकेको हो । बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको बताइएको छ ।

नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ । विवाद बढ्दै जाँदा दुवै पक्षका नेताहरुले एकअर्का विरुद्ध हस्ताक्षर अभियान समेत चलाउन थालेका छन् ।

प्रधानमन्त्री ओली सकेसम्म स्थायी समिति बैठक नबोलाई संसदीय दलमा बहुमत कायम गर्ने तयारीमा छन् । तर अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम भने ओलीको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।