७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री ओलीको यो तुरुपले काम गर्ला ?

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार १५:३५

काठमाडौं । सत्ता र पद जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र वामदेव गौतम तुरुप प्रयोग गर्ने निष्कर्षमा पुगेका छन् ।

हिजो बुधबार बसेको सचिवालय बैठकमा सांसद नरहेका पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने र माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष बनाउने उधारो आश्वासन दिएर ओलीले पुष्पकमल दाहाललाई ‘साइज’मा ल्याउन नयाँ रणनीति अघि सारेका छन् ।

ओलीले सांसदसमेत नरहेका वामदेव गौतमलाई पुनः एकपटक प्रधानमन्त्रीको सपना देखाएका छन् । यस्तै, एक व्यक्ति एक पदको पक्षमा रहेका माधव नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने ओलीको अफर छ ।

गौतम राष्ट्रियसभामा गएर भए पनि प्रधानमन्त्री बन्ने दाउमा छन् । उनकै लागि संविधान संशोधनको चर्चा यसअघि पनि चलेको थियो । ओलीले नै गौतमको सपनामा भाँजो हालिदिए ।

यता, पार्टी एकतादेखि नै निरन्तर अपमानित महसुस गरिरहेका नेपाल ओलीलाई हटाएर पार्टी अध्यक्ष वा प्रधानमन्त्री बन्ने रणनीतिमा छन्  ।गौतमलाई प्रधानमन्त्री बन्ने बाटो सहज छैन । किनभने, उनी जनमतबाट अस्वीकृत पात्र हुन् । पार्टीमा एउटा गुटको नेतृत्व गरिरहेका नेता नेपाल पनि ओलीको रोजाइमा पर्दैनन् ।

योसँगै ओलीको नेपाल र गौतम ‘तुरुप’ले उनको पद र शक्ति जोगिएला त ? यो जिज्ञासाको जवाफ पाउन शनिबार हुने सचिवालय बैठकसम्म पर्खिनै पर्ने हुन्छ ।