१५ चैत्र २०८०, बिहीबार
Follow Us

धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परे सुलभ अग्रवाल

नेपालब्रिटेन संवाददाता
१८ बैशाख २०७७, बिहीबार १५:५०

काठमाडौ । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाल धरौटीमा रिहा भए लगत्तै फेरि पक्राउ परेका छन् । साढे २५ लाख रुपैयाँ धरौटी बुझाएर काठमाडौं जिल्ला अदालतबाट रिहा भएलगत्तै सम्पत्ति शुद्धिकरण विभागले अग्रवाललाई पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ गरेर पठाउन आदेश दिएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए । कालोबजारीबाटै अकुत सम्पत्ति आर्जन गरेको हुनसक्ने भन्दै सम्पत्ति सुद्धिकरण विभागले अनुसन्धान सुरु गर्ने भएको छ ।

कालोबजारीको मुद्दा जिल्ला प्रशासन कार्यालयले हेर्ने भए पनि सार्वजनिक पद धारण गरेको व्यक्तिलाई थप डेढी सजाय हुने व्यवस्थाअनुरुप अग्रवालविरुद्धको मुद्दा जिल्ला अदालत काठमाडौंको क्षेत्राधिकारमा पुगेको थियो । अग्रवाल अवैतानिक वाणिज्य दूतसमेत भएकाले थप सजाय माग गर्दै जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो । अग्रवाल कीर्गिस्तानका अवैतानिक दूत थिए ।

ग्राहक बनेर थर्मल गन किन्न गएको महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलाई उनले साढे २४ सय पर्ने थर्मल गन १५ हजारमा बेच्न लागेका बेला गत चैत २५ गते पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको थियो । चीनबाट १२ सय थान गन ल्याएको अनुसन्धानका क्रममा भेटिए पनि प्रहरीले अग्रवालले १ सय ४५ थान मात्रै थर्मल गन कालोबजारी गरेर बेचेको पुष्टि गरेको थियो । बाँकी थर्मल गन भने अहिलेसम्म फेला परेको छैन ।