१९ बैशाख २०८१, बुधबार
Follow Us

मन्त्री नै संशोधन प्रस्तावको विपक्षमा

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७३, शनिबार ११:४४

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको सविधान संशोधन विधेयक फेल गराउन सत्ता पक्षका नेता मात्र होइन मन्त्री नै लागेका छन् । हिजो बुटवलमा आयोजना भएको विरोध सभामा सत्ता पक्षका नेताहरु खुलेर विधेयकको विरुद्धमा देखिएका थिए । आज राप्रपाका एक मन्त्री संशोधन विधेयकको विरुद्धमा खुलेका छन् । भुमिसुधार तथा व्यवस्थामन्त्री विक्रम पाण्डेले सरकारले सदनमा पेस गरेको संविधान संशोधन विधेयक फेल हुने दाबी गरेर विधेयकको विपक्षमा अभिमत दिएका छन् ।
राप्रपा र राप्रपा नेपालको जिल्ला तहको एकीकरणका लागि लमजुङ आउनुभएका मन्त्री पाण्डेले यस्तो दाबी गरेका हुन् । सरकारले सत्ता साझेदार दल र सरकारमा सहभागी मन्त्रीहरुसँग समेत कुनै परामर्श नगरी संशोधन प्रस्ताव पेस गरेकाले आफूहरु संशोधनको विपक्षमा रहेको उनको भनाई थियो ।
“सत्ता साझेदार नेपाली काँग्रेस र माओवादी केन्द्रका सांसद समेत संशोधनको विपक्षमा छन् यस्तो अवस्थामा कसरी संशोधन प्रस्ताव पारित हुन्छ ?”उनले प्रश्न गरे ।
मन्त्री पाण्डेले आफूले पाँच विकास क्षेत्रलाई नै ५ प्रदेश मानेर सीमाङ्कन गर्न गरेको आग्रहलाई अस्वीकार गरेर ठूला दलका नेताले गम्भीर त्रुटी गरेको आरोप समेत लगाए । सरकारको काम जनअपेक्षा अनुरुप हुन नसकेको स्वीकार गर्दै मन्त्री पाण्डेले भूमिसुधार मन्त्रालयले भने जनतालाई अनुभूति हुने गरी काम गरेको दाबी गरे ।
राप्रपा र राप्रपा नेपालको एकीकरणले देशमा राष्ट्रवादी शक्तिको मनोवल उच्च राखेको भन्दै मन्त्री पाण्डेले आगमी निर्वाचनमा राप्रपा वैकल्पिक शक्तिको रुपमा उदाउने बताए ।