१४ बैशाख २०८१, शुक्रबार
Follow Us

केपी दाजु अल्छे र स्वादे हुनुहुन्थ्यो

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७३, शनिबार १२:०१

शिवरूपा इङनाम आङवोहाङ, गृहिणी

केही समय शिवरूपा इङनाम आङवोहाङको बाल्यकाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीसँग बित्यो । झापामा ओलीले पहाड घर तेह्रथुमका छिमेकी इङनाम परिवारमा केही समय बिताए । त्यसबेला इङनाम परिवारकी छोरी शिवरूपा सात वर्षकी थिइन्, यो त्यस्तै २०१८–१९ सालतिरको कुरा हो । एमाले अध्यक्ष ओलीबारे कुमार राउतसँग शिवरूपाले गरेको कुराकानी :

० कसरी संगत भयो केपी ओलीसँग ?
– झोडा फाँडेर अहिलेको दमक–१७ मा दाजुहरू बस्नुहुन्थ्यो । माइला दाजुको विवाह भए पनि भाउजू तराईमा बस्न मान्नु भएन । त्यसैले खाना बनाउन र घरधन्दा सघाउन मलाई दाजुहरूले पहाडबाट तराई ल्याउनु भयो । खै, कसरी केपी ओली दाजु पनि हाम्रै घरमा बस्न आउनुभएको थियो ।

० कहिलेको कुरा हो यो ?
– सम्भवतः म त्यसबेला ६–७ वर्षकी हुनुपर्छ । २०१३ सालमा जन्मेकी हुँ । दाजुहरूसँगै बस्न भनेर केपी दाजु पनि आउनुभयो । उहाँ हाम्रै घरमा बस्नुहुन्थ्यो ।

० पढ्न बस्नुभएको हो ?
– होइन, दाजुहरू चाहिँ खेती किसानीसँगै पढ्नुहुन्थ्यो, केपी दाजुले पढेको चाहिँ मलाई थाहा छैन । त्यसो त मैले पनि पढ्न पाइनँ ।

० के गरेर बस्नुभयो ?
– दाजुहरूसँगै खेती किसानी काम सहयोग गर्नुहुन्थ्यो । भर्खर झोडा फँडानी हुँदै थियो । खेती लगाउने, घरमा १७–१८ वटा बाख्रा, एउटा भैसी, हल गोरु, सुँगुरका पाठाहरू थिए । त्यसको हेरचाह गर्नुपथ्र्यो ।

० उहाँलाई के भन्नुहुन्थ्यो ?
– दाजुको साथी भएकाले दाजु नै भन्थें । म सानी फुच्ची भए पनि छुच्ची टाइपकी थिएँ । खाना पकाउने र बाख्रा चराउने मेरो डिउटी थियो । दाइहरूलाई काम लगाउने, काम गरेन भने गाली गर्थें ।

० के भनेर गाली गर्नुहुन्थ्यो ?
– अह्राएको काम गरेन भने रिस उठ्थ्यो, मनपरी भन्थे, गालीसँगै भरे भात पाउँदैनस्, मासु पकाएको दिन बोसो मात्रै पाउलास् भन्दिन्थे । केपी दाजु अलि अल्छे र स्वादे टाइपको हुनुहुन्थ्यो । जे भए पनि अरु दाजुहरूको अगाडि केपी दाजुलाई केही भन्न सक्दिनँ थिएँ, तर एक्लै भएका बेला उहाँलाई गोबर सोहोर्न, गाईवस्तुलाई कुँडो दिन र घाँस काट्न अह्राउँथे । उहाँ हत्तपत्त मेरा कुरा टेर्नु हुँदैन थियो ।

० बिर्सन नसक्ने कुनै घटना छ ?
– एउटा घटना चाहिँ अहिले पनि सम्झिन्छु । संयोग पनि त्यस्तै परेछ । घरमा दुई तीन किसिमको सिकार पकाएकी थिएँ । त्यो दिन केपी दाजुले मैले अह्राएको काम गर्नु भएनछ । मलाई रिस उठिरहेको थियो । बेलुकी खाना खाने बेलामा उहाँलाई बोसै बोसो भएको मासु हालिदिएँ । उहाँले टुलुटुलु त्यही मासु पकाएको कराइमा हेरिरहनुभयो । असाध्य माया लाग्यो, पछि छानीछानी राम्रो मासु हालिदिएँ ।

० उहाँको स्वभाव कस्तो थियो ?
– भान्सामा खाना बस्दा यो छैन, त्यो छैन भनेर सोधिराख्नु हुन्थ्थो, म झर्केर छैन भन्थे, तर उहाँ सबै कुरालाई सहज रूपमा स्वीकार्नु हुन्थ्यो । मासु पकाएको भाँडालाई घाँटी तन्काएर हेरोस् भनेरै सुरुमा उहाँलाई थोरै मासु दिन्थे । उहाँ मासुको सौखिन हुनुहुन्थ्यो ।

० अश्लील शब्द पनि प्रयोग गर्नुहुन्थ्यो ?
– हाम्रो समुदायमा तपाई हजुर भन्ने चलन थिएन, अझै पनि जीहजुरको चलन हामीकहाँ छैन । अरुलाई नै लाज लाग्ने शब्द प्रयोग गर्दिनँ थिएँ । केपी दाजुसँग तँ तँ र म मबाटै कुराकानी हुन्थ्यो । मेरो छुच्ची स्वभाव भए पनि उहाँले बहिनी भनेर माया गर्नुहुन्थ्यो ।

० उहाँको व्यवहार कस्तो लाग्थ्यो ?
– उहाँको व्यवहार औधि मन पथ्र्यो । रिस उठेको बेलाबाहेक उहाँलाई दाजुसरह आदर गर्थें, उहाँले पनि बहिनी भनेर माया गर्नुहुन्थ्यो ।

० मासुबाहेक दहीमोहीमा उहाँको रुचि थिएन ?
– मोही पारेको दिन घिउ खान पाइन्थ्यो । घिउ बेच्न लैजानुपर्ने भएकाले एक चम्चाभन्दा बढी कसैलाई दिइँदैन थियो । केपी दाइ घिउ, दहीदूध भन्दा पनि मासु मन पराउनुहुन्थ्यो ।

० क्षेत्रीबाहुनले त सुँगुर खाँदैनन् नि ?
– यो कुरा मैले पनि सुनेको हुँ, तर केपी दाजुले त्यस्तो छिःछिः दूरदूर गरेको मलाई थाहा छैन । उहाँ जुनसुकै खानेकुरा संकोच नमानी खानुहुन्थ्यो ।

० घरमा के काम गर्नुभयो ?
– कृषकको घर भएकाले सबै काम गर्नुपथ्र्यो । हलो जोत्ने, आली लगाउने, घाँस काट्ने, बाख्रावस्तु हेर्नुपथ्र्यो । केपी दाजुले पनि हाम्रा दाइ सँगसँगै काम गर्नुहुन्थ्यो ।

० तपाईंको घरमा उहाँ कसरी आइपुग्नुभयो ?
– म सानै थिएँ, केपी दाजु कसरी त्यहाँ आइपुग्नु भएको हो ? मलाई केही थाहा छैन । त्यहाँ अर्का एकजना काकाको छोरा पनि थिए । हाम्रो पहाड घर सँगै भएकाले केपी दाजु पनि त्यहाँ आउनुभएको सुनेकी मात्र हुँ । मलाई स्कुल पढाएनन्, त्यसैले सबै कुरा जान्ने बुझ्न सकिनँ । केही रमाइलो सम्झना मात्र बाँकी छ ।

० कति बस्नुभयो ?
– तिथिमिति सबै मलाई ठ्याक्कै थाहा छैन । केही समय बसेपछि उहाँ त्यहाँबाट हिँड्नु भयो । कहाँ जानु भो, कता जानु भो ? मलाई केही थाहा भएन । तर म १३ वर्षकी हुँदा एकदिन दमकको घरमा टुप्लुक्क आइपुग्नुभो ।

० त्यसपछि ?
– त्यसबेला केपी दाजुलाई बाल्यकालको व्यवहार गर्ने आँट मसँग थिएन । सम्हालिएर कुरा गर्थें, त्यसबेला केपी दाजु त्यति धेरै समय बस्नुभएन ।

० अहिले पनि भेट हुन्छ ?
– अहिले पनि बेलाबेला केपी दाजुलाई भेट्न जान्छु । उहाँको निर्वाचन क्षेत्र हामी बसोबास गर्ने ठाउँ नै भएकाले उनी पनि आउनुहुन्छ । काठमाडौं आएको बेला केपी दाजुलाई भेट्न जान्छु, पुरानो कुरा सम्झाउँछु । विगत रमाइलो मानेर सुन्नु हुन्छ, खुसी लाग्छ ।

० तपाईंको आफ्नो परिवार ?
– त्यही दाजुकहाँ बस्दाबस्दै मलाई विवाह गरेर दिए । ०३२ फागुन २२ गते मेरो विवाह भयो । झापाको सालबारीमा पाँच वर्ष बसेपछि फेरि पहाड घरतिर लागें ।

० पे्रम विवाह गर्नुभएको हो ?
– हैट के को पे्रम विवाह गर्नू ? घरमा अति अनुशासन थियो । दमकमा फिल्म हेर्न दाजुहरूले सँगै लैजाने गर्नुहुन्थ्यो । दाजुहरूको अनुमतिबिना छिसिक्कै केही गर्न पाइँदैन थियो ।

० धान नाँच्नु भएन ?
– मैले त नाँच्न पाइनँ ।

० बालबच्चा ?
– नौजना हुन्, तीन छोरा र चार छोरी अहिले छन् । एक छोराबुहारी अस्टे«लियामा छन् । दुई छोरी बेलायत र दुई छोरी हङकङमा छन् ।