७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली सेनाले पनि चीनबाट ल्याउन सकेन स्वास्थ्य सामग्री

नेपालब्रिटेन संवाददाता
२५ बैशाख २०७७, बिहीबार १४:२२

काठमाडौं । कोरोना भाइरसको संक्रमणले विस्तारै नेपालमा पनि भयावह रुप लिन थालेको छ । अर्कातिर स्वास्थ्य सामग्रीको अभाव हुँदा संक्रमितको परिक्षण र उपचार सेवा प्रभावित भएको छ । स्वास्थ्य सामग्रीको अभाव पुरा गर्न सरकारबीचको समझौता मार्फत प्रक्रिया अघि बढाइए पनि सामग्री आइपुग्न अझै केहि समय लाग्ने भएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री र औषधि ल्याउने जिम्मा नेपाली सेनाले पाएको छ । सरकारबीचको सम्झौता प्रक्रियामार्फत चीनबाट ३ सय ४२ टन स्वाथ्य सामाग्री आयात हुने भनिएको छ । सो सामान सहितको सात वटा ट्रक सोमबार नै गोन्जाआबाट हिडसकेको र बैशाख ३१ मा तातोपानी नाका आइपुग्ने सेनाको भनाई छ ।

यसैगरी अत्यावस्यक स्वास्थ्य सामग्री नेपाल एरलायन्सको विमान मार्फत ल्याइने बताइएको छ । दुई वटा उडान मध्ये पहिलोमा १८ दशमलव आठ चार तीन टन र दोस्रो उडानमा २८ दशमलव सात सात टन सामान ल्याइनेछ । आवश्यकता अनुसार विमान र कन्टेनर मार्फत सामान ओसार्ने सेनाको योजना छ ।

नेपाली सेनाले चीनबाट ल्याउन लागेको ७६ थरीका स्वास्थ्य सामग्री र औषधिको मूल्य २ अर्ब २६ करोड ७ लाख ८१ हजार ४७ रुपैयाँ रहेको छ । सेनाले चीनको सरकारी कम्पनी चाइना साइनो फर्म इन्टरनेशनल कर्पोरेसनसँग गरेको सम्झौताअनुसार अनुसार राष्ट्र बैंकमार्फत् एक करोड ८४ लाख ४१ हजार ७ सय ६ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । विश्वभर चिनकै सामाग्री आयात भइरहेकाले गुणस्तर परिक्षण सहित एकद्धार प्रणाली अपनाएकाले स्वास्थ्य सामग्री आयातमा ढिलाइ भइरहेको आपूर्तीकर्ताहरुले बताएका छन ।