१५ चैत्र २०८०, बिहीबार
Follow Us

आईजीको भ्रमणमा कल्याणकारी कोषको २० हजार डलर

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७३, शनिबार १२:१०

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई संयुक्त राष्ट्रसंघको शान्ति मिसनअन्तर्गत हाइटी भ्रमणमा गएका थिए । उनीसँगै सशस्त्र प्रहरीका वरिष्ठ अधिकारीहरू पनि गएका थिए। मिसनमा रहेका प्रहरीहरूको निरीक्षणका क्रममा उनी हाइटी पुगेका हुन् । यो भ्रमण कल्याणकारी कोषको रकममा भएको हो । उनले धेरैजसो विदेश भ्रमण कल्याणकारी कोषको रकमबाटै गर्दै आएका छन् ।महानिरीक्षक राईले  विदेश भ्रमणका क्रममा अहिलेसम्म करिब २० हजार अमेरिकी डलर रकम स्वाहा पारिसकेका छन् ।
उनी मात्रै होइन, सशस्त्र प्रहरीका अन्य वरिष्ठ अधिकारीहरूको विदेश भ्रमणमा पनि सशस्त्र प्रहरीको कल्याणकारी कोषको  रकमबाटै हुने गरेको छ । कल्याणकारी कोष मूलतः भूतपूर्व, अशक्त र कार्यक्षेत्रमा रहँदा निधन भएकाहरूका आश्रित परिवारको हितमा खर्च गर्ने उद्देश्यले स्थापना भएको हो । महानिरीक्षक राई पछिल्लो समय इटाली, अमेरिका तथा इन्टरपोलको बैठकमा सहभागी हुन जाँदा कल्याणकारी कोषको रकम प्रयोग गरेको स्रोतले बताएको छ । कोषको बैठक नै नगरी लिइएको यस रकमलाई वैधानिकता दिन कोषको बैठक बोलाउन लगाएर उनी हाइटी पुगेका छन्, जसका कारण बैठक रोकिएको छ ।
रकम दुरूपयोगको आरोप लागेपछि महानिरीक्षक राईले त्यसलाई पेस्की रकमको स्पष्टोक्ति दिएका छन् । सरकारलाई भार नपर्ने गरी महानिरीक्षक राईलगायत भ्रमण दलको खर्च आयोजकले नै बेहोर्ने भनेपछि गृह मन्त्रालयले उनीहरूलाई भ्रमणको अनुमति दिएका थियो । तर कोषले अनुमोदन दिएको छैन । गत चैत ६ मा महानिरीक्षक राई इटालीको भिसेन्जास्थित सेन्टर फर एक्सिलेन्स फर स्ट्याबिलिटी पुलिस युनिटमा सञ्चालित ‘एफपियु कमान्ड’ तथा ‘स्टाफ कोर्स’ (ट्रेनिङ अफ ट्रेनर्स) को समापन कार्यक्रमा जाँदा पनि कोषबाट रकम लिएका थिए । टोलीमा तत्कालीन एक डीआईजी र राईका निजी सचिव गुञ्जनप्रताप मल्ल पनि सहभागी थिए ।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार अहिलेसम्म विदेश भ्रमणका क्रममा कोषबाट निकालिएको रकम कोषको बोर्ड बैठकबाट पारित भएको छैन । बोर्डको निर्णयपछि मात्र अफिसियल भिजिटका लागि कोषको रकम प्रयोग हुने भनिए पनि अहिलेसम्म निर्णय भएको छैन । इटाली जाने क्रममा महानिरीक्षक राईले ६ हजार अमेरिकी डलर, मल्लले तीन हजार अमेरिकी डलर लिएको स्रोतले बताएको छ ।
गत जेठमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्पन्न युनाइटेड नेसन्स चिफ अफ पुलिस सम्मेलनमा सहभागी हुन जाँदा पनि सशस्त्र प्रहरी महानिरीक्षक राई र प्रहरी नायब महानिरीक्षक रामशरण पौडेलले कोषको रकम लगेका थिए । तर अहिलेसम्म त्यसको रकम अनमोदन हुन सकेको छैन । कल्याण कोषमा जम्मा भएको १७ करोड रकम भूकम्प पीडितको नाममा पठाइएको छ । तर त्यसको पनि कुनै हिसाब–किताब छैन । प्रहरी कल्याणकारी कोषमा भएको सो रकम बैकमा राखेर पीडितहरूलाई अझै नदिँदा बंैकबाट लिइएको कमिसन पनि आईजीपी राई र अन्य प्रहरी अधिकृतहरूले बाडेर खाने गरेका छन् ।