१२ बैशाख २०८१, बुधबार
Follow Us

लण्डन दूतावासप्रति समुदायको असन्तुष्टि (विशेष सम्पादकीय) 

नेपालब्रिटेन डट कम्
१८ मंसिर २०७३, शनिबार १९:५५

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको निर्णय र दूतावासलाई लिएर यति बेला बेलायतको नेपाली समुदायबीच विभिन्न खाले टिप्पणीहरू बाहिर आएका छन् । विशेषत: सोसल मिडियामा भएका यस्ता टिप्पणीहरूमा दूतावासका पछिल्ला क्रियाकलापप्रति असन्तोष व्यक्त भएका छन् ।

ख़ास गरी गत बिहिवार ओहोदाको प्रमाणपत्र बुझाउने दिन दूतावासले दिएको रिसेप्शनमा ‘सीमित र गैरप्रतिनिधिमूलक’ व्यक्तिहरूको उपस्थितिलाई लक्षित गरी टिप्पणी आएका छन् । दूतावासले निकालेको विज्ञप्तिमा सङ्घसंस्थालाई बोलाइएको सङ्केत भएको तर स्थानीय समुदायमा अस्तित्वमा रहेका सङ्घसंस्थाको प्रतिनिधित्व हुन नसकेकोप्रति धेरैको गुनासो रहेको देखिन्छ । दूतावासप्रति स्थानीय नेपाली समुदायले स्वामित्वबोध गर्ने परम्परा रहँदै आएको र ओहदाको प्रमाणपत्र पेस गर्ने कार्यक्रम सार्वजनिक महत्त्वको विशिष्ट अवसरसमेत भएकाले यस्ता कार्यक्रमको विशेष चासो सबैमा देखिएको हो ।

बेलायतको समेत उत्तिकै सरोकारको विषय रहेको गोर्खाहरूको समेत उचित प्रतिनिधित्व नभएको, महिला, एनआरएन समुदाय र वेल्स तथा नर्दन आयरल्याण्डबाट कसैको पनि उपस्थिति नदेखिएको र निम्त्याइएकाहरू वैयक्तिक हैसियतले पुगेजस्तो देखिएको प्रति समुदायहरू रुष्ट देखिएका हुन् । यसरी असन्तोष व्यक्त गर्नेमा गोर्खाहरूदेखि एनआरएन र पत्रकारहरूसम्म छन् ।

लामो समय राजदूतविहीन रहेको बेलायतमा नयाँ राजदूत नियुक्त भएसँगै यहाँको नेपाली समुदाय उत्साहित बनेको थियो । दलीय भागबन्डा नै भएपनि दलबाट नभई परराष्ट्र सेवाबाटै वरिष्ठताका आधारमा राजदूत पाउनुले पनि यहाँको समुदायमा थप सकारात्मकता र आदर रहेको अनुभव गरिएको थियो । लामो कूटनैतिक अनुभव र स्वच्छ छवि बनाएका ‘करियर डिप्लोम्याट’ राजदूतलाई स्वागत गर्ने लहर र उत्साह अझै उल्लेख्य रूपमा कायम छ ।

राजदूतले कार्यभार सम्हालेसँगै दूतावासमा उल्लेख्य सुधारका प्रयासहरू नभएका होइनन् । खासगरी सेवाग्राहीको सहजता र सुलभताका निम्ति राजदूतले उठाएका कदमहरूको सबैबाट प्रसंशा भएको छ । निष्पक्ष रूपमा सबै नेपाली समुदायलाई साथ लिएर अघि बढ्ने प्रतिबद्धतासमेत बारम्बार नयाँ राजदूतबाट व्यक्त हुँदै आएको छ । अध्ययनशील, स्पष्टवक्ता, अनुभवी, दक्ष र सजिलै घुलमिल हुनसक्ने व्यक्तिका रूपमा धेरैले उहाँलाई लिएका छन् ।

बेलायतमा नेपालीका झन्डै ४ सय सङ्घसंस्था क्रियाशील रहेका छन् र ती सबैको वैज्ञानिक मर्यादाक्रम छुट्याउनु र दूतावासमा प्रतिनिधित्व होस् भन्नु आफैमा ठूलो चुनौती हो । एनआरएनए समेत आफैमा तिनको छाता सङ्गठन बन्न नसकिरहेको सन्दर्भमा ती सबैको चित्त बुझाउने गरी प्रतिनिधित्व अवश्य पनि धेरै सम्भव छैन । खासगरी सुरक्षा संवेदनशीलता, कूटनैतिक सीमा, भौतिक क्षमता र व्यवस्थापनजस्ता विविध चुनौतीसँग लड्दै पनि सकेसम्म अधिकभन्दा अधिक सामुदायिक प्रतिनिधित्व रहोस् भन्नेतिर दूतावास सचेत रहँदै आएको परम्परा छ ।

एउटै भवनमा कार्यालयदेखि निवाससम्म रहेको र दूतावाससँग ‘सिक्युरिटी’लगायतमा पर्याप्त जनशक्ति नरहेको सन्दर्भमा दूतावासले चाहेरै पनि सधैँ सबैको प्रतिनिधित्व सुनिश्चित गर्न सक्दैन । हाम्रो समुदायको आकार र स्वरुप अनुसार पूर्णतः विवादरहित प्रतिनिधित्व हुन पनि सक्दैन । तर पनि दूतावासले निम्त्याउने अतिथिहरूमा प्रतिनिधिमूलकताको अपेक्षा राखिनु गलत होइन ।

दूतावासका माथिल्ला दुबै पदमा अपेक्षाकृत नयाँ व्यक्तिहरू भएकाले पनि बेलायती नेपाली समुदायको जटिल सञ्जालबारे दूतावासमा केही अन्योल भएको हुनसक्ने अनुमान गर्नसकिन्छ । राजदूतावास यहाँका नेपाली समुदायको अभिभावकका रूपमा रहँदै आएको र तीबीच नङ् र मासुको सम्बन्ध रहिआएको छ । एकआपसमा सहकार्य, सहयात्रा र सुमधुर सम्बन्ध कायम गर्दै दूतावास र नेपाली समुदाय दुबैले आफ्नो उद्देश्य हासिल गर्न सक्छन् । एकअर्काप्रति विश्वास, आदर र सहयोग सधैँ अपेक्षित हुन्छ ।

नवनियुक्त राजदूतले पनि बारम्बार यस तथ्यप्रति आफू सचेत रहेको बताइरहने गरेकाले अहिलेको समुदायको असन्तोष अपवादका रूपमा रहला भन्ने अनुमान धेरैको छ । समुदायभित्रका असन्तुष्टि र गुनासाहरूलाई सकारात्मक रूपमा पृष्ठपोषणका रूपमा लिएर तिनलाई यथाशक्य सम्बोधन गर्दै दूतावास अघि बढ्नेछ भन्ने आशा गर्न सकिन्छ । समुदायले पनि यस्ता एकाध परिघटनाहरूलाई संयोग र अपवाद मानेर खुला छाती गर्दै दूतावासको मर्यादा र गतिविधिप्रति सहयोगी बनिदिन र सहसम्बन्धमा प्रतिबद्ध बनिदिन आवश्यक छ ।