१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली भूमिमा भारतले सडक बनाएको भन्दै नेपालमा चौतर्फी विरोध

नेपालब्रिटेन संवाददाता
२७ बैशाख २०७७, शनिबार ०७:५४

काठमाडौं । भारतले नेपालको दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने सडक मार्ग उदघाटन गरेकोमा नेपालका विभिन्न दल तथा नेताहरुले विरोध गरेका छन् । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले तत्काल कूटनीतिक तहबाट समस्याको हल खोज्न आग्रह गरेका छन् ।

त्यस्तै पूर्व परराष्ट्रमन्त्री कमल थापाले यस सम्बन्धमा सरकारले अबिलम्ब कदम चाल्नुपर्नेमा जोड दिएका छन् । पूर्व परराष्ट्रमन्त्री डाक्टर प्रकाशचन्द्र लोहनीले सरकार मौन बसेको भन्दै आलोचना गरेका छन् । पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले सरकारले तत्काल पत्र लेखेरै त्यो रोक्न भन्नुपर्ने बताएका छन् ।

सत्तारुढ नेकपाका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले अतिक्रमणविरुद्ध तुरुन्त कदम चाल्न सरकारलाई आग्रह गरेका छन् । उनले भारतले अनधिकृतरुपमा कब्जा गरेको र आफैंले समेत विवादित भनी स्वीकार गरेको पश्चिम सीमा क्षेत्रको नेपाली भूमिमा सडक बनाएको भन्दै उनले आपत्ति जनाएका हुन् ।

नेकपाका केन्द्रीय सदस्य विष्णु रिजाले पनि सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने र कूटनीतिक माध्यमबाट सुल्झाउन पहल थाल्नुपर्ने बताएका छन । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले यस प्रकरणमा सरकारको धारणा माग गरेका छन् ।

कांग्रेस नेता गगन थापाले अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्न सरकारलाई आग्रह गरेका छन् । नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डे, राजनीति शास्त्री कृष्ण पोखरेलले भारतले कब्जा गरेको आफ्नो भूमि बचाउन सरकारसँग योजना नभएको गुनासो गरेका छन् ।

साझा पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका दलले विज्ञप्ति निकालेर नेपाली भूमि लिपुलेकबाट भारत फर्कनुपर्ने बताएका छन् । यस सम्बन्धमा सरकारले भने अहिलेसम्म औपचारिक धारणा सार्वजनिक गरेको छैन ।