February 26, 2021
3:54 AM | 9:39 AM
अन्तर्वार्ता

मानव संशाधन मन्त्रालय स्थापना गर्नुपर्छ

  05/07/2016 मा प्रकाशित

टंकप्रसाद भट्टराई, मानव संशाधन विज्ञ,

देशलाई समृद्धि बाटोमा अघि बढाउन देशका नागरिक समुन्नत हुन आवश्यक छ । राजनीतिक परिवर्तनले मात्र देशको विकास सम्भव छैन । विकासका लागि देश भित्र बिद्यमान स्रोत र साधनको उच्चतम प्रयोग गर्दै आर्थिक रुपमा देशलाई अगाडि बढाउनु अत्यावश्यक छ । बिभिन्न स्रोत–साधनहरु मध्ये मानव स्रोत एक महत्वपूर्ण र बिशिष्ठ साधन हो, जसको उचित प्रयोग, परिचालन र व्यवस्थापनले मात्र अन्य साधनहरुको उच्चतम् प्रयोग हुन्छ । पछिल्लो समयमा राज्य तथा निजी स्तरमा विकासका चर्का नारा लगाइँदै आइएता पनि देश विकासका निम्ती के–कस्तो जनशक्ति उत्पादन गर्नुपर्ने र जनशक्तिको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा कुनै पनि पक्षको खासै ध्यान पुग्न सकेको छैन । अपेक्षा गरिए अनुसारको विकास नहुनुका कारण र सरकार एवं निजी संघसंस्थाले अवलम्वन गर्नुपर्ने कुराहरुको बिषयमा विगत १८ बर्षदेखि मानव संशाधनको क्षेत्रमा कार्यरत र हाल नेपालको एक प्रमुख व्यापारिक घराना ‘शंकर ग्रुप’मा मानव संसाधन महाप्रवन्धकको रुपमा कार्यरत टंकप्रसाद भट्टराईसँग गरेको समयसामयिक कुराकानी प्रस्तुत गरिएको छ :
नेपालमा मानव संसाधनको अवस्था कस्तो छ ?
म दावाको साथ भन्न सक्छु की मानव साधन एक प्रमुख साधन हो, जसको उपयुक्त प्रयोग र परिचालनबिना अन्य कुनै पनि स्रोत तथा साधनहरुको उच्चतम प्रयोग हुन सक्दैन । कुनै पनि देशको समग्र बिकास गर्न त्यस देशमा रहेको दक्ष जनशक्तिको महत्वपुर्ण भुमिका रहेको हुन्छ । मानव संसाधन व्यवस्थापनको आधारभुत सिद्धान्त ‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ भन्ने तथ्यलाई मध्यनजर गर्ने हो भने हाल नेपालमा जुन जुन प्रकारको मानव संसाधन÷ जनशक्तिको आवश्यकता छ, वास्तविक रुपमा हामीले सजिलै प्राप्त गर्ने सकेको अवस्था भने कम छ । यसको मतलव देशलाइ जुन दक्षता र सीपयुक्त जनशक्ति आवश्यक रहेको छ, त्यसको आधारमा वास्तविक अध्ययन भई जनशक्ति उत्पादन भईराखेका अवस्था छैन । अर्कोतर्फ भन्ने हो भने नीतिनिर्माण तहमा बसेकाहरुले पनि यस प्रकारको जिम्मेवारीपूर्ण भुमिका निर्वाह गर्न सकेको देखिँदैन । यसर्थ, देशमा बिद्यमान जनशक्तिको आवश्यकता र त्यसको वास्तविक आपुर्तीको हिसावले सम्बन्धित सबै पक्षबाट मानव संसाधनको व्यवस्थापन गर्न ढिलाई गर्नु नहुने तथ्य प्रष्ट गर्न चाहान्छु ।
जनशक्ति व्यवस्थापन कसरी गर्ने ?
हामीले‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ भन्ने तथ्यलाई आत्मसात गर्न नसकेको अवस्था छ । सर्वप्रथम, नेपालमा कस्तो किसिमको जनशक्ति आबश्यकता छ वा देश बिकासका कुन –कुन क्षेत्रलाई प्राथमिकता दिने भन्ने बिषय टुंगो लगाउनुपर्छ । हामीले कृषि, पर्यटन, उत्पादन, निर्माण, सेवा आदी कुन क्षेत्रको विकास गर्ने हो योजनाबद्ध प्राथमिकिकरण गरि त्यही अनुसार मानव संसाधनको बिकास गर्न व्यवहारिक कोर्षहरु तयार गरि आवश्यक जनशक्ति तयार गर्नुपर्छ । सिद्धान्तका कुराले मात्र हुँदैन, वास्तविक क्षेत्रमा सफलतापुर्वक कार्यान्वयनको लागि व्यवहारिक ज्ञान वा सीप नै चाहिन्छ । विश्वविद्यालय वा बिभिन्न शैक्षिक क्षेत्रबाट उत्पादन हुने जनशक्तिले हाम्रो देश विकासको भिजनलाई व्यवहारमा उतार्न सकोस भन्ने तहबाट सोच्न आवश्यक छ । हाम्रो देश नेपालको परिवेशमा हेर्ने हो भने हामी हरेक क्षेत्रबाट समन्वयकारी भुमिकाका कहि न कहि चुकेको हुनाले मानव संसाधन बिकासको लागि अव एक छिन पनि ढिलाइ गर्नु उपयुक्त हुँदैन ।
नेपालमा सरकारी तथा निजी क्षेत्रमा कार्यरत जनशक्तिलाई कसरी मुल्याङ्कन गर्नुभएको छ ?
कुनै पनि संघसंस्था, उद्योग व्यवसाय कतिदिन टिकाउने,राम्रो गर्ने वा नराम्रो गर्ने भन्ने त्यहाँ कार्यरत जनशक्तिमा नै निर्भर गर्दछ । सक्षम जनशक्तिबाट हुने सेवा वा उत्पादन, अर्धदक्ष वा अदक्ष बाट हुने भन्दा निकै नै फरक हुन्छ । सवभन्दा पहिला कामको वर्गिकरण गर्नु जरुरी छ । कुन कार्यको लागि कस्तो किसिमको जनशक्ति चाहिन्छ भन्ने बिषयमा सुक्ष्म रुपमा अध्ययन गरेर मात्र पदपूर्ति गर्नुपर्छ । जस्तो उदाहरणको लागि शाखा अधिकृत तहमा कस्तो ज्ञान, सीप र आचारण भएको व्यक्ति उपयुक्त हुन्छ भन्ने कुरा पहिले नै टुंग्याउनुपर्छ । शाखा अधिकृतको लागि योग्यता त तोकेको छ, तर जुन सुकै विषय पढेको भएपनि हुने स्नातक उत्तिर्ण भएको भनिन्छ, वास्तवमा समस्या यहिनेर छ । सामान्य ज्ञान घोकेको भरमा उत्तीर्ण भएको व्यक्तिले भोलि राम्रो काम नगर्न पनि सक्छ । हरेक विद्यार्थीले उसले अध्ययन गरेको विषयबस्तु वा व्यवहारिक कार्यको आधारमा ज्ञान वा सीपको बिकास हुने हो । तसर्थ, निजी क्षेत्रमा मानव संसाधनको महत्व र यसको उच्चतम प्रयोग गर्नु पर्दछ भन्ने बिषयका निकै नै चेतना बढेको अवस्था भएता पनि देशको अस्थिर अवस्था र नीति निर्माण तहमा पुगेकाहरुको असक्षमताको कारण सरकारी तहमा मानव संसाधनको बिकासको गति अझै पनि सुस्त नै छ ।
कर्मचारीहरुको छनौट गर्दा बिशेष ध्यान दिनु पर्ने तथ्यहरु के के हुन ?
बिशिष्ट विषय केन्द्रित जनशक्ति नहुने हो भने उसबाट उत्पादित आउटपुट पनि अवश्य पूर्णहुदैन । त्यसकारण हामीले जनशक्ति छनोट गर्दा ‘राइट पिपुल, राइट टाईम इन राइट प्लेस’ मा ध्यान दिनैपर्छ । कुनै पनि संस्थामा उपयुक्त जनशक्तिको छनौट गर्दा संस्थाको दीर्घकालीन र अल्पकालीन उद्धेश्यलाई मध्य नजर गर्दै कुन पदको ब्यक्तिले के के कार्य गर्नु पर्दछ र त्यस कामको लागि आवश्यक पर्ने वास्तविक दक्षता, ज्ञान वा सीपको बारेमा प्रष्ट अध्ययन भएको हुनु पर्दछ ।
नियुक्त हुन लागेको व्यक्ति वा सो पदको व्यक्तिले सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरु के के हुन, सोकार्य गर्न उक्त व्यक्ति सक्षम छ कि छैन त्यस बिषयमा परिक्षण गर्नु पर्दछ । कामको प्रकृति अनुसार व्यक्तिमा हुनुपर्ने व्यवहारिक गुणहरु छ कि छैन भन्ने बिषयमा जानकार हुनु पर्दछ ।त्यो कार्यको लागि उसको वास्तविक रुची छ कि छैन त्यो पनि हेर्नुपर्छ । यदि रुची नै छैन भने जतिसुकै क्षमता भएपनि उसले टिकेर कार्य गर्न सक्दैन । यस प्रकारले नेपालमा अहिलेसम्मसरकारी स्तरमा गहन अध्ययन र विश्लेषण भएको छ भन्ने मलाई लाग्दैन । लोकसेवाले परीक्षा लिन्छ, जसले २–४ महिना घोकेर पढ्छ, उपास गर्छ, छनोट हुन्छ ।
उसको बिशिष्टिकृत पढाई के मा छ र उसको वास्तविक चाहना के हो, उसको ज्ञान, सीप र दक्षता के मा छभन्ने कुरामा ध्यान दिएकै हुँदैन । त्यसैले गर्दा समग्रमा लोक सेवाबाट छनौटमा परेका व्यक्तिहरुले सम्पादन गर्ने कार्य प्रभावकारी हुन नसकेको अवस्था जन जाहेर नै छ । जसको नकारात्मक प्रभाव स्वरुप घुसपैठ अधिक हुनुु, जनताको कार्य भन्दा कमाई धन्धामा फोकस भईरहेका कर्मचारीहरुको संख्या दिनानुदिन बढ्नु र ट्रान्सपेरेन्सी नेपालको प्रतिवेदनले पनि हामीलाई बताईरहेको छ ।
त्यसकारण सम्बन्धित व्यक्ति व्यवहारिक रुपमा कार्य सम्पादन गर्न योग्य कि छैन भन्ने कुरा नै सवैभन्दा महत्वपूर्ण हुन्छ । सरकारको नीति निर्माण तहमा बसेकाहरुनै यस प्रकारको गहन अध्ययन र बिश्लेषण गरि मानवसंसाधनकोमहत्व र यसको उच्चतमप्रयोग सम्बन्धमास्पष्ट बुझेका छन् भन्नेमा आज सम्म हामीले महशुस गर्न पाएका छैनौ ।
नेपालपाटीबाट

प्रतिक्रिया