१६ चैत्र २०८०, शुक्रबार
Follow Us

नेपाललाई भारतको जवाफ: नयाँ सडक मार्ग भारतीय भूमिभित्रै पर्छ

नेपालब्रिटेन डट कम्
२७ बैशाख २०७७, शनिबार १८:४८

काठमाडौं– भारतले शुक्रबार उद्घाटन गरिएको सडक मार्ग भारतीय भूमिभित्रै पर्ने जवाफ दिएको छ। लिपुलेक हुँदै मानसरोबर जाने ‘लिङ्क रोड’ भारतले उद्घाटन गरेकोप्रति नेपालले शनिबार आपत्ति जनाएको थियो। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली भूमिमा कुनै पनि गतिविधि नगर्न भारत सरकारलाई आग्रह गरेको थियो।

त्यसको प्रतिउत्तरमा शनिबार साँझ भारतीय विदेश मन्त्रालयले विज्ञप्ति निकालेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा उक्त रुट मानसरोबर जाने तिर्थयात्रीले पहिलेदेखि नै प्रयोग गर्दै आएको उल्लेख छ।

सीमासम्बन्धी विषय सुल्झाउन भारतले संयन्त्र स्थापना गरेको भन्दै विज्ञप्तिमा उक्त संयन्त्रले नेपालसँग सहकार्य गरेर काम गरिरहेको बताइएको छ।

सीमासम्बन्धी विवाद कूटनीतिक संवाद र नेपालसँगको निकट र मित्रवत् सम्बन्धको भावना अनुसार हल गर्न तयार रहेको भारतले जनाएको छ।

त्यस्तै परराष्ट्र सचिव स्तरीय बैठक कोभिड–१९ महामारीमा सफलता पाएपछि आयोजना गर्न तयार रहेको पनि भारतले जनाएको छ।