१३ बैशाख २०८१, बिहीबार
Follow Us

दक्षिण कोरियामा फेरि देखियो सामूहिक कोरोना सङ्क्रमण

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७७, आईतवार १०:२३

सिओल । कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सक्ने देश दक्षिण कोरिया भनेर सर्वत्र चर्चा हुनुका साथै यहाँको दैनिकी सामान्य हुँदै गरेका बेला यहाँ पुनः सामूहिक कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो समय राजधानी सिओलको इथेवन बजारबाट सामूहिक सङ्क्रमण भएको देखिएको हो । आइतबार ३४ नयाँ सङ्क्रमित देखापरेको दक्षिण कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ । यो सङ्ख्या अप्रिल ९ पछिको सबैभन्दा धेरै हो ।

अन्दाजी २९ वर्षीय एक कोरोना भाइरस सङ्क्रमित इथेवन बजारको विभिन्न रात्रि क्लबहरूमा पुगेपछि त्यहीँबाट सङ्क्रमण शुरु भएको हो । उक्त सङ्क्रमित व्यक्ति मे १ र २ तारिखमा विभिन्न रात्रि क्लब र बजारमा पुगेपछि उसको सङ्सर्गमा पुगेका दुई हजार जना बढीमा पनि सङ्क्रमण फैलिन सक्ने अनुमान गरिएको छ । त्यसैले यहाँ रहेका नेपाली संस्थाका प्रतिनिधिले पनि उक्त स्थान आसपासमा विशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा आग्रह गरेका छन् ।

यसरी कोरोना भाइरसको सामूहिक सङ्क्रमण देखापरेपछि दक्षिण कोरिया सरकारले सिओल आसपासका सम्पूर्ण क्लब तथा बारहरू बन्द गर्ने निर्णय गरेको छ । साथै सङ्क्रमित व्यक्ति पुगेको समयमा क्लबमा उपस्थित सबैलाई सम्पर्कमा ल्याइ स्वास्थ्य परीक्षणको तयारी गरिएको समेत बताएको छ । हालसम्म लकडाउन नगरेरै कोरोना सङ्क्रमण नियन्त्रण गरेको देश दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार ८०० को हारहारीमा छन् भने नौ हजारभन्दा धेरै सङ्क्रमित निको भइसकेका छन् ।
– जीवन खत्री