१३ बैशाख २०८१, बिहीबार
Follow Us

अतिक्रमित भूमि फिर्ताको माग गर्दै नेकपा सांसदद्वारा संसदमा संकल्प प्रस्ताव दर्ता

नेपालब्रिटेन संवाददाता
२८ बैशाख २०७७, आईतवार १५:३८

काठमाडौ । सत्तारुढ नेकपाका सांसदहरुले लिपुलेकमा भारतीय अतिक्रमण रोकी नेपालको उपस्थिति कायम गर्न माग गर्दै संसदमा संकल्प प्रस्ताव दर्ता गरेका छन् । आज लिपुलेक रहेको क्षेत्रका सांसद सांसद गणेश ठगुन्नासहित नेकपाका सांसदहरु दीपप्रकाश भट्ट, यज्ञ बोगटी, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र गणेश पहाडीले संकल्प प्रस्ताव दर्ता गरेका हुन ।

प्रस्तावमा भारतद्वारा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याएर नेपालको राजनीतिक र प्रशासनिक उपस्थिति कायम गर्न माग गरिएको छ । प्रस्तावमा सन् १८१६ को सुगौली सन्धिले स्पष्ट रुपमा कुटियाङ्दी नदीनै महाकाली मुहान् भएको स्पष्ट पारेको भन्दै र त्यसपूर्वको चार सय वर्ग किलोमिटर भू–भाग भारतले अतिक्रमण गरिएको उल्लेख छ ।

नेकपा सांसदले ऐतिहासिक तथ्य, प्रमाण र नक्साहरुले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सम्पूर्ण भूभाग नेपालको भएको प्रमाणित गर्ने जनाएका छन् । नेकपा सांसदहरूको यो संकल्प प्रस्ताव कहिले सदनमा छलफलका लागि प्रस्तुत गर्नेबारे सभामुखले निर्णय गर्नेछन । प्रस्ताव संसद बैठकमा पेस भएपछि सरकारले त्यसवारे जवाफ दिनुपर्नेहुन्छ ।