१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएले मध्यपूर्व केन्द्रित स्वास्थ्य सम्बन्धी विशेष कार्यक्रम संचालन गर्ने

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७७, आईतवार १६:०८


स्वास्थ्य समितिद्धारा मध्यपूर्वका नेपालीसंग छलफल

यूएई । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गतको कोडिभ–१९ उच्चस्तरीय स्वास्थ्य समितिले मध्यपूर्वमा रहेका नेपालीहरुको वर्तमान अवस्थाको बारेमा जानकारी लिएको छ ।

कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिव हेमराज शर्मा, प्रवक्ता डिबी क्षेत्री, सचिव राजेन्द्रकुमार शर्मा तथा मध्यपूर्वका एनआरएन संयोजक प्रवीण गुरुङसहित मध्यपूर्वका विभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य समितीका तर्फबाट यूएईबाट रवीन्द्रकुमार यादव, साउदी अरबबाट अनिरुद्द पाठक, कतारबाट नितेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले साकारात्मक सूचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिएका थिए । कतारका लागि नेपाली राजदूत नारद भारद्वाजले नेपाल सरकारले प्राथमिकता क्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिए । कोरोनाको समस्या कतिसम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा जोड दिए ।

अध्यक्ष कुमार पन्तले गैर आवासीय नेपाली संघ मध्यपूर्वमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै महामारीबाट बच्न यो बैठक कोशेढुङा साबित हुने आशा व्यक्त गरेका थिए ।

उपाध्यक्ष बद्री केसीले नेपाली मजदूरहरुको उद्दारको लागि २० करोडसम्मको सीड मनीको ब्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताव गरिएको जानकारी गराएका थिए । वैदेशिक रोजगार समितीका संयोजकसमेत रहेका केसीले विदेशमा अलपत्र परेका ११२ जना नेपालीहरुका शब नेपाल लैजान नेपाल सरकारले कदम चाल्नु पर्नेमा जोड दिए ।

महासचिव हेमराज शर्माले विभिन्न देशहरुमा रहेका दूतावासले एकद्वार प्रणालीद्वारा नेपालीहरुको उद्दार गर्नु पर्नेमा जोड दिए । अलपत्र परेका नेपालीहरुको उद्धार गर्ने बेला आइसकेकोले अब थप ढिला गर्नु नहुनेमा उनको जोड थियो । उद्धार गरिएका नेपालीहरुको ब्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ । संसारभरमा १६ सय स्वयम सेवक मार्फत र ३१ हजार नेपालीहरुलाई खाध्यान्न सहयोग गरिएको महासचिब शर्माले जानकारी गराए । विश्वभरमा झण्डै १०० जना डाक्टरहरु नेपालीहरुको सेवामा खटिएको जानकारी शर्माले दिनुभयो ।

प्रवक्ता डिबी क्षेत्रीले नेपाल सरकारले अब आश्वासन मात्र दिएर नपुग्ने भन्दै कहिलेसम्म नेपालीहरुलाई फिर्ता लैजान सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने बताए । केही देशहरुमा गर्भवती महिलाहरु अलपत्र परेको र उनीहरुको सुरक्षित मातृत्वमा नेपाल सरकारले ध्यान दिन जरुरी रहेको उनले बताए । सरकारले ठोस योजना नबनाउँदा विदेशका नेपालीहरुमा निरासा उत्पन्न भएको उनको भनाइ रहेको थियो ।

कार्यक्रममा कुवेतबाट मध्यपूर्व महिला संयोजक सुमित्रा राना, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेजबहादुर थापा लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्थाको बारेमा जानकारी गराएका थिए । साउदी अरबबाट प्रतिनिधित्व गर्ने आइसीसी सदस्य यस्मीन बेगमले जनचेतना जगाउनु पर्नेमा बिशेष जोड दिनुभएको थियो । मध्यपवर्ब उपसंयोजक राजेन्द्र अर्यालले दूतावास र विभिन्न संघसंस्थाहरु एकताबद्ध भएर यो प्रकोपसँग जुध्नु पर्ने आवश्यकता रहेको बताए । मिडिया समितिका सह–संयोजक तथा मानार्थ सदस्य मेघराज सापकोटाले स्वास्थ्य र सुरक्षाको बिषयमा एनआरएनले थप भूमिका खेल्नु पर्नेमा जोड दिए ।

वक्ताहरुले मनोवैज्ञानिक असरले गर्दा हृदयघात र आत्महत्याका घटनाहरु बढेकोमा चिन्ता व्यक्त गरेका थिए ।

उनीहरुको मनोबल उच्च बनाउन काउन्सिलिङको आवश्यकता रहेको वक्ताहरुले बताए । बैठकले ‘हेल्थ टीम’ गठन गरी परिचालन गर्नुपर्ने, हटलाइनमार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि ‘हेल्थ फण्ड’ को व्यवस्था गर्नु पर्नेमा जोड दिएको छ ।

कार्यक्रममा डाक्टर पुरु श्रेष्ठले नेपालीहरुलाई फिर्ता कसरी गर्ने भन्ने बारेको कार्ययोजना प्रस्तुत गरेका थिए । अधिकांश वक्ताहरुले मध्यपूर्वमा रहेका एनसीसी र दूतावासले संयुक्त रुपमा काम गर्नु पर्नेमा जोड दिएका थिए । स्वास्थ्य समितिका संयोजक सापकोटाले छिट्टै नै मध्यपूर्व स्वास्थ्य समिति गठन गरिने जानकारी गराएका छन् ।

समितिले मध्यपूर्वमा रहेका नेपालीहरुमा जनचेतना फैल्याउँदै विभिन्न कार्य गर्ने बताइएको छ ।

भर्चुअल बैठक स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाले सञ्चालन गरेका थिए ।