११ बैशाख २०८१, मंगलवार
Follow Us

कोभिड-१९ बाट बेलायतमा मात्र ज्यान गुमाउने नेपालीको संख्या ६० पुग्यो

नेपालब्रिटेन संवाददाता
२९ बैशाख २०७७, सोमबार १२:०९

चिरन शर्मा
लण्डन । कोरोना भाइरस (कोभिड १९) बाट वेलायतमा ज्यान गुमाउने गैरआवासीय नेपालीको संख्या ६० पुगेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरनका अनुसार सोमवार विहानसम्म ५० जना पुरुष र १० जना महिलाको कोरोना संक्रमणले निधन भएको छ ।

नेपाली दूतावास लण्डनका अनुसार निधन भएका मध्ये ४९ जना भूपु गोरखा हुन् भने बाँकी अन्य पेशामा आबद्ध थिए । दूतावासले बेलायतको रक्षा मन्त्रालय, स्थानीय काउन्सिल तथा अस्पताल र बिभिन्न संघसँस्थाबाट प्राप्त सूचनाको आधारमा सो तथ्यांक संकलन गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघ (एनआरनए) को स्वास्थ्य समितिले आइतवार प्रकाशन गरेको तथ्यांकमा बेलायतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ५१ जना देखाएको थियो । एक दिनपछि सो संख्या बृद्धि भएर ६० जना पुगेको हो ।

दूतावासले जारी गरेको नयाँ तथ्यांक पछि कोरोनाको कारणले विश्वभर निधन हुने नेपालीको संख्या ८७ पुगेको छ । यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ। न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एक जनाको मृत्यु भएको हो। यस्तै संयुक्त अरब इमिरेट्स (युएइ) मा ६ तथा आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्डस, बहराइन र स्वीडेनमा एकएक जनाको कोरोना भाइरसका कारण ज्यान गएको एनआरएनएले जनाएको छ ।