८ बैशाख २०८१, शनिबार
Follow Us

आज २४ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुग्यो

नेपालब्रिटेन संवाददाता
३१ बैशाख २०७७, बुधबार १६:०२

काठमाडौं । कोभिड १९ को सङ्क्रमण आज २४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा नयाँ २४ जनामा सङ्क्रमण देखिएको बताउनुभयो ।

योसँगै सङ्क्रमितको सङ्ख्या २४३ पुगेको छ । आज दिउँसोमात्र बाँके र कपिलवस्तुमा दुई जना सङ्क्रमण देखिएको थियो । आज भेटिएकामा रुपन्देहीका १२, कपिलवस्तुका आठ, पर्साका तीन र नवलपरासीका एक जना रहेका छन् । नयाँ सङ्क्रमितमा २० जना पुरुष र चार जना महिला रहेका छन् । नयाँ सङ्क्रमितमा रुपन्देहीका २२, २२, २५, २८, ३०, ३२, ३२, ३३ र ४१ वर्षीय पुरुष र ४, १० र २८ वर्षीया महिला रहेका छन् ।

यसैगरी कपिलवस्तुका २२, २९, ३२, ४०, ४०, ४०, ४२ र ४२ वर्षका पुरुष रहेका छन् । नयाँ सङ्क्रमितमा पर्साका ३६ र ७४ वर्षीय पुरुष र ३६ वर्षीय महिला तथा नवलपरासीका ३६ वर्षीय पुरुष रहेका छन् । मङ्गलबार अहिलेसम्मकै धेरै सङ्ख्यामा ८३ मा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।